
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर खाग बिक्रिमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोबेबजारका कमल गुरुङ्गलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
तनहुँको आबुखैरेनी गाउँपालिका–१ सत्रसयमा लुकिछिपी हिडेको अवस्थामा जिल्ला प्रहरी कार्यालय, तनहुँको सहयोगमा निकुञ्जबाट खटिएको टोलीले गुरुङ्गलाई पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत नवलपुर पेश गरिएको छ ।
गुरुङ्गले गत वर्षको भाद्र २१ गते निकुञ्ज अमलटारी सेक्टर अन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा गैंडा मारेर खाग बिक्रिमा संलग्न भएको निकुञ्जका अधिकारी तिवारीको भनाइ छ ।
उक्त समय सो स्थानमा गैंडाको खाग काटिएको अवस्थामा माउ र बच्चा गरी २ वटा गैंडा मृत अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा १३ जना प्रतिवादीहरूको विभिन्न सांगठनिक तहमा संलग्नता रहेको खुल्न आएको थियो ।
१३ मध्ये हालसम्म ११ जना पक्राउ परिसकेका छन् । दुई जना अझै फरार रहेको र खोजी कार्य जारी रहेको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्