१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै


286
Shares

काठमाडौं । आज माघ १ गते माघी पर्व । थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर मनाउँदै छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ ।

यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने माघी पर्व ३ दिनसम्म मनाउने गर्दछन् । पुसको अन्तिम दिन रातभर नाचगान गरेर जाग्राम बस्ने, डफ बजाउने र गाउने चलन रहेको छ । माघे सक्रान्तिका दिन विशेषगरी थारु समुदायका महिला–पुरुष बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुहाएर आफूभन्दा ठूलाबाट आशिर्वाद लिने गर्दछन् ।

आर्शिवादले वर्षभरीमा भएको मनमुटावलाई फेरी मिलाउन सकिन्छ भन्ने विश्वास रहेको छ । माघी पर्व माघको २ गते सकिन्छ । पर्वको अन्तिम दिन आफ्नो घर परिवार र गाउँमा भएको गत वर्षको कामको समीक्षा र आगामी वर्षको योजना बनाउने तथा नयाँ नेतृत्व बरघर चौकीदार गुरुवा चुन्ने गरिन्छ । जसलाई माघी डेवानी अर्थात खोज्नी बोझ्नी भनिन्छ ।

थारु समुदायका पुरुषहरू माघीका लागि मासुको जोहो गर्न व्यस्त हुन्छन् भने महिलाहरूलाई घर लिपपोत गर्न, दुना टपरी बनाउनका साथै जाँड, ढिक्री, रोटीलगायत तयार गर्ने गर्दछन् । माघीमा पाहुना धेरै जम्मा हुने भएकाले उनीहरूको स्वागतका लागि थरीथरीका स्थानीय खाना पकाउने गरिन्छ ।

कोरोना भाइरसका कारण यस वर्ष परिवारभित्रै पर्व मनाउने थारु समुदायको तयारी छ ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदाय अहिले माघीको रौनकमा छन् । माघीकै अवसर पारेर देश भित्र र बाहिर रहेकाहरु समेत घर फर्केर रमाईलो गर्ने गर्दछन् ।

सरकारले वि.सं. २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मुलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।

माघी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आइतबार बिदासमेत दिएको छ । आज शनिबार परेकोले २ गते आइतबार बिदा दिइएको हो ।