
काठमाडौं । ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत् अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी गराउनुभयो ।
मन्त्री खड्काले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पार्नुभयो । नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो हुने दावी समेत गर्नुभयो ।
आइतबार नै काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्ने मन्त्री खड्काले जानकारी दिनुभयो । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरूमा औंषधि उपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायशी सामानहरू रहेका छन् ।
‘संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको तीन किसिसका सामानहरू औषधि उपचार, लत्ताकपडा र घरायसी सामानहरू हामीले हस्तान्तरण गर्नेछौं,’ उहाँले भन्नुभयो, ‘ती सामानहरू भोलि हवाइजहाजमा लिएर जान्छौं र संयुक्त राष्ट्र संघलाई नेपाली जनताको तर्फबाट अफगानिस्तानको जनताका लागि हस्तान्तरण गर्ने कार्यक्रम छ ।’
उहाँले थप्नुभयो, ‘मलाई लाग्छ– नेपालको इतिहासमा पहिलोपटक प्लेननै लिएर सामान ठूलो सहयोग प्रदान गर्नेछौं ।’
मन्त्री खड्काले यो सहायता सामग्री वितरणपछि नेपालको छवि अन्तराष्ट्रिय जगतमा बढ्ने र नेपाल विश्वका कुनै पनि भेगका नागरिकलाई मानवीय सहायता गर्न समक्ष भन्ने सन्देश जाने स्पष्ट पार्नुभयो । उहाँले नेपालले विपद्मा आफूले सहायता लिने तर अरुलाई सहायता नदिने छवि सुधारका लागि पनि अफगानिस्तानका नागरिकलाई मानवीय सहायता पठाउने सोच आफूले अघि सारेको बताउनुभयो ।
नेपालले पठाउने सहायता सामग्री सुरक्षित ढंगले विमानमार्फत् लैजाने र सुरक्षित ढंगले हस्तान्तरण गरेर फर्काउने व्यवस्था गर्न धेरै ठूलो कोसिस गर्नुपरेको पनि मन्त्री खड्काले जानकारी गराउनुभयो । उहाँले त्यसका लागि संयुक्त राष्ट्र संघ, भारत सरकार, नेपालस्थित विभिन्न देशका राजदुतहरूको ठूलो सहयोग रहेको पनि स्मरण गर्नुभयो ।
संयुक्त राष्ट्रसंघले यो हिउँदमा अफगानिस्तानमा ठूलो भोकमरीको समस्या आउने जनाएको छ । लाखौंको संख्यामा बालबालिकाहरू खानाको अभावमा मर्ने चेतावनी दिँदै मानवीय सहायताका लागि विश्व समूदायलाई अपिल गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्