१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीमा विवादबारे बोल्यो भारत, भन्यो– ‘भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ’


12.012k
Shares

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले नेपाल–भारत सीमाको सन्र्दभमा भारत सरकारको अडान स्पष्ट रहेको बताएको छ ।

सीमा विवादको विषयमा नेपालका समाचार र विभिन्न दलहरूले विज्ञप्ति जारी गरेसँगै नेपालका लागि भारतीय दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै सीमाको विषयमा भारत सरकार आफ्नो अडानमा स्पष्ट रहेको जनाएको हो ।

‘भारत–नेपाल सीमानामा भारत सरकारको अडान सर्वविदित, सुसंगत र स्पष्ट छ,’ विज्ञप्तिमा भनिएकाे छ, ‘नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।’

यसअघि भारत सरकारले लिपुलेक आफ्नो भूमि बताउँदै त्यहाँ सेनासमेत राखिसकेको छ । अहिले त्यस आसपास नेपाली जनतामात्र होइन, आर्मी र एपीएफलाई समेत जान दिँदैन ।

यस्तै, दुई देशबीच रहेको सीमा विवादको समाधान सञ्चार र संवादबाट सम्बोधन गर्नसकिने समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार र संवादका लागि स्थापित अन्तर–सरकारी संयन्त्र र च्यानलहरू सबैभन्दा उपयुक्त भएको भन्दै दूतावासले बाँकी रहेका विवाद घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनामा सधैं सम्बोधन गर्नसकिने उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक बनाउने क्रम जारी रहेको भन्दै उत्तराखण्ड राज्यमा आएर बोलेपछि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विज्ञप्ति जारी गर्दै मोदीको भनाइको विरोध गरेका थिए ।