
कैलाली । जिल्लाको टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको टोलीले पहिलो चरणको सर्वेक्षण गरेको छ । प्राधिकरणका इञ्जिनीयर नेतृत्वको टोलीले विमानस्थलको प्रारम्भिक सर्वेक्षणको काम सुरु गरेको हो ।
विमानस्थल सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक संरचना निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेपछि प्राधिकरणको टोली पहिलो चरणको सर्वेक्षणका लागि आएको हो ।
विमानस्थलको लम्बाई एक हजार २ सय ५० मिटर रहेकाले ५२ सिट क्षमतासम्मको विमान सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको सर्वे टोलीले जनाएको छ । टिकापुरबाट सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सञ्चालन हुँदै आएको हवाइसेवा सशस्त्र द्वन्द्वका बेला बन्द भएको थियो ।
त्यसपछि सुकुम्बासीको अतिक्रमणमा परेको विमानस्थल टीकापुरका राजनीतिक दल र सरोकारवालाको समन्वयमा खाली गराएर पुनःविमान सञ्चालनको प्रयास भए पनि सफल नहुँदा अहिले विमानस्थल गाइबस्तु चराउने थलो बनेको छ ।
प्रतिक्रिया दिनुहोस्