
पाल्पा । नेपालको ताजमहलका रूपमा चिनिएको पाल्पाको रानीमहल दरबार संग्रहालयका रूपमा विकसित गरिएको छ ।
खड्गशम्शेरले निर्माण गरेको यो दरबारमा उनले प्रयोग गरेका भाँडा, मूर्ति, शंख शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताउनुभयो ।
यसका लागि झण्डै ४० लाख खर्च भइसकेको बताउँदै शाहीले बजेट नपुगे बढाउँदै जाने प्रतिबद्धता जनाउनुभयो । रानीमहलको सम्पूर्ण विकास गर्न १० करोड बढी बजेट आवश्यक पर्ने भएकाले त्यसलाई क्रमशः बजेट व्यवस्थापन गरेर विकास गर्दै लाने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
विसं १९५० मा खड्ग शम्शेरले आफ्नी दिवङ्गत पत्नी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । विसं १९५० मा शिलान्यास गरी १९५४ सम्पन्न महल कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर बनाइएको छ ।
तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँको बीच अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । धार्मिक र पर्यटकीय दृष्टिले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्