
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराती म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले ७० औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै सिटीले प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानको चेल्सीसँग १३ अंकको अग्रता लिएको छ । २२ खेलबाट सिटीको ५६ अंक छ भने चेल्सीको ४३ अंक छ ।
प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले म्यान्चेस्टर युनाइटेडलाई २–२ गोलको बराबरीमा रोकेको छ । खेलमा युनाइटेडका ब्रुनो फर्नान्डेजले सुरुवाती दुई गोल गरेपनि भिल्लाका ज्याकोब राम्से र कोटिन्होले एक एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । ब्राजिलियन खेलाडी कौटिन्होले एस्टन भिल्लाको लागि डेब्यु खेलमै गोल गरेका हुन् ।
गएराति भएका अन्य खेलहरुमा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनलाई ३–१ ले हराउँदा नरिच सिटीले एभर्टनमाथि २–१ को जित निकाल्यो ।
यसैगरी, न्युकासल युनाइटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेल्दा बर्न्ले र लेष्टर सिटीको खेल कोभिडको कारण रद्द गरियो ।
प्रतिक्रिया दिनुहोस्