२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बझाङमा टेलिफोनको नेटवर्कको समस्या


65
Shares

बझाङ । बझाङका ग्रामीण बस्तीहरुमा टेलिफोनको नेटवर्क नहुँदा समस्या हुने गरेको छ ।

नेपाल टेलिकमले बझाङमा फोर जी संचालन गरेको झण्डै एक वर्ष पुगेपनि अहिले सदरमुकाम चैनपुरमा मात्रै संचालनमा छ । चैनपुरमा समेत बेला बेलामा नेटवर्क जाने गरेको छ ।

बुंगल नगरपालिकामा नेटवर्क नहुँदा फोन गर्न समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाका लागि भन्दै नेपाल टेलिकमले पाँच वर्षअघि बुंगल नगरपालिका– १० को तुमेडा डाँडामा नयाँ टेलिकमको टावरसमेत जडान गरेको थियो । टावर जडान गरेको केही महिना सेवा सुचारु रहे पनि टावरले दिगो रुपमा काम गर्न नसकेको स्थानीयले बताएका छन् ।

गाँउमा कोही सुत्केरी, घाईते, बिरामी पर्दा स्वास्थ्यकर्मीहरु तथा सवारी चालकलाई बोलाउन परेको खण्डमा मान्छेलाई नै पठाउनु पर्ने अवस्था अझै कायमै रहेको स्थानीय बासिन्दा हिक्मत बहादुर धामीले बताउनुभयो ।

ईमेरजेन्सि टेलिफोनमा कुरागर्नु परेको खण्डमा तिन चार घण्टा पैदल हिडेर अग्ला डाँडामा पुगेर फोन गर्नु पर्ने अवस्था आएको दिपेश गुर्धामीले बताउनुभयो । फोरजीको जमानामा बुंगल नगरपालिकामा भने एक कलफोन गर्नै समस्या हुने गरेको उहाँको भनाई छ ।

बुंगल नगरपालिकाका मेयर धन बहादुर विष्टले भने आफुले यस विषयमा पटक पटक सरोकारवालासँग पहल गरे पनि अझै काम हुन नसकेको बताउनुभयो ।

यस विषयमा कुनैपनि सांसदहरुको ध्यान नपुगेको यहाँका स्थानीय बासिन्दाको आरोप छ । चुनावको मुख्य एजेन्डा लिने गरेका जिल्लाका सांसदहरुले अहिलेसम्म यस विषयको उठान सम्म नगरेको आरोप स्थानीयहरुको छ ।

बझाङको बुंगल नगरपालिकाका साथै विकट साईपाल गाँउपालिका, थलारा गाँउपालिका, विथ्थडचिर गाँउपालिका, सर्मा गाँउपालिका, तल्कोट गाँउपालिका, केदार स्युँ गाँउपालिकामा समेत नेटवर्कको समस्या रहेको छ ।

यता, नेपाल टेलिकम बझाङले भने बझाङका टावर जडान भएका ठाँउहरु अग्लो अग्लो डाँडाकाँडा रहेको र उक्त ठाँउमा विजुलीको ब्यवस्था नभएका कारण सौर्य बत्तीको भर परेका कारण घाम नलागेको दिनहरुमा नेटवर्कमा समस्याा आउने गरेको जानकारी दिएको छ ।