
काठमाडौं । प्रधानमन्त्री कप टी–टवान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले प्रदेश नम्बर १ माथि सान्त्वना जित दर्ता गरेको छ ।
समूह ‘ए’ अन्तर्गत प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमले प्रदेश १ लाई ७ विकेटले पराजित गरेको हो ।
१ सय ५९ रनको लक्ष्य सुदुरपश्चिमले १९ दशलमब १ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
सुदुरपश्चिमका लागि राजु रिजालले अर्धशतकिय इनिङ्स खेले । उनले ६८ रन कप्तान सन्तोष भट्टले ४८ रनको योगदान गरे । अर्जुन साउद २६ रनमा अविजित रहे । प्रदेश १ का कमल खत्री, फिर्दोस अन्सारी, मुकुन्द यादवले एक–एक विकेट हात पारे ।
पराजयसँगै सेमिफाइनल प्रवेश गर्ने प्रदेश १ को सम्भावना पनि टुंगिएको छ भने यस समूहबाट त्रिभुवन आर्मी क्लब अन्तिम चारमा प्रवेश गरेको छ । समूहको उपविजेता बनेको आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ । समूह ‘ए’ बाट लगातार तीन खेल जित्दै ६ अंककासाथ एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुदुरपश्चिमले ४ खेलमा ४, कर्णालीले ४ खेलमा २ तथा प्रदेश १ ले ३ खेलमा १ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । तर, प्रदेश १ ले आफ्नो अन्तिम खेल एपीएफविरुद्ध सोमबार खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्