
काठमाडौं । प्रदेश नम्बर २ को प्रदेशसभामा आज सोमबार प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउन मतदान हुने भएको छ ।
प्रदेशसभामा विभिन्न दलहरुहरुले पेश गरेका नाम र स्थायी राजधानी सम्बन्धि प्रस्तावमा आज मतदान गराउने कार्यसूचि रहेको छ ।
सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समिति पनि सहमति जुटाउन असफल भएपछि मतदानमा जाने निर्णय गरिएको हो ।
प्रदेशसभाको हिजो बसेको बैठकमा विशेष समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गोप्य मतदानबाट नाम र स्थायी राजधानीका प्रस्तावहरुलाई टुंग्याउनु पर्ने समितिको राय सुनाएका थिए । ।
२ नम्बर प्रदेशलाई ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ नाम राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेका छन् । यस्तै, स्थायी राजधानीमा जनकपुरधाम र बीरगञ्ज प्रस्ताव गरिएको छ ।
संविधान अनुसार यी दुवै प्रस्ताव दुई तिहाई बहुमतले पारित हुनुपर्दछ । तर प्रदेशसभामा कुनै पनि दल वा गठबन्धनको दुई तिहाई बहुमत नरहेकाले दुवै प्रस्ताव असफल हुने देखिएको छ ।
सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टीबीच मोर्चाबन्दीको प्रयास पनि भईरहेको छ । २०७६ चैतमा पनि नाम र राजधानी सम्बन्धि प्रस्तावमा मतदान हुँदा दुई तिहाई नपुगेर असफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्