
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले कोभिड–१९ बाट ज्यान गुमाएकाको परिवारलाई २५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
नगरपालिकाले बनाएको ‘विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७७’ लाई आधार मानेर कार्यपालिका बैठकबाट निणर्य गरी राहतस्वरूप रकम उपलब्ध गराइएको उहाँको भनाइ छ ।
आर्थिक वर्षको सुरुवातदेखिनै उपलब्ध गराउँदै आएको राहत रकम, पुस १५ गतेसम्म ४९ जनालाई उपलब्ध गराइएको खाँणले बताउनुभयो । अझै ६० जनाको प्रक्रियामा रहेको र निवेदन आउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले गत पुस १५ सम्ममा ४९ जनालाई राहत र काजकिरियाबापत १२ लाख २५ हजार रुपैयाँ उपलब्ध गराइसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताउनुभयो ।
भुक्तानी दावी गर्नकालागि कोभिड १९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्युदर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्