
काठमाडौं । कोरोना संक्रमण बिजुली गतिमा बढिरहँदा मुलुकको प्रशासनिक मुख्यालय सिंहदरबारको प्रवेशद्वारमै स्वास्थ्य मापदण्ड पालनमा हेलचेक्र्याइँ देखिएको छ ।
सामान्यभन्दा सामान्य कार्यालयमा मास्क, सेनिटाइजर, थर्मगनको प्रयोग हुन थालिसकेको अवस्थामा मास्क लगाएकै भरमा सिंहदरबार प्रवेशमा छुट छ । प्रहरीको हातमा थर्मगन त छ तर प्रयोग भएको पाइँदैन ।
गाडीमा चढेर अझ साइरन बजाएर आउने भीआईपीलाई सिंहदरबार गेटमा कुनै चेकजाँच छैन । जबकि सिंहदरबार कार्यक्षेत्र भएका मन्त्रीदेखि आधा दर्जन सचिव कोरोना संक्रमणबाट ग्रस्त छन् । विभिन्न मन्त्रालयबाट जारी सबै किसिमका पास रद्द गरेपछि सिंहदरबारमा भीडभाड कम छ ।
पैदल आउनेको स्वास्थ्य अवस्था र खोपकार्ड सोधखोज गरिए पनि गाडीमा आवतजावत गर्ने माथि भने प्रहरी निगरानी देखिँदैन । अभ्यास नभएको क्रियाकलापमा बानी बसाल्न गाह्रो भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल बताउनुहुन्छ ।
‘जाडो महिना भएकाले न्यानोका लागि धेरैले मास्क प्रयोग गरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘गर्मी महिनामा हामीलाई पनि मास्क प्रयोग गर्न मन लाग्दैन, त्यसैले बानी सुधार्न आवश्यक छ ।’
प्रवेशद्वारको खेलाँची मन्त्रालय परिसरमा पुगेपछि भने केही व्यवस्थित देखिन्छ । कुनै पनि मन्त्रालयमा स्यानिटाइजर र मास्कको प्रयोगविना छिर्न कडाइ गरिएको छ । सरकारले कोरोनाबाट उच्च सर्तकता अपनाउन उर्दी जारी गरिसकेकाले कार्यस्थलमा पनि स्वास्थ्य मापदण्ड थप कडाइ गरिएको पोखरेलको भनाइ छ ।
प्रत्येक मन्त्रालयको प्रवेशद्वारमा मास्क अनिवार्य गरिएको सूचना टाँसिएको छ । सरकारी कार्यालयका गाडीमा स्यानिटाईज गर्ने गरिएको चालकहरू बताउँछन् । सानालाई ऐन, ठूलालाई चैनको उदाहरण बन्ने गरेको सिंहदरबारलाई कोभिड संक्रमणको सवालमा भने सबैलाई समान व्यवहार गरिनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्