
चितवन । धुर्मुससुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको खर्च विवरण चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै फाउण्डेशनले कुनै आर्थिक अनियमितता नभएको तथा आर्थिक र भौतिक प्रतिवेदन भरतपुर महानगरलाई बुझाइएको जनाएको छ । बुझाइएको प्रतिवेदनमध्ये भौतिक प्रतिवेदनको मूल्याङ्कन सकिन लागेको र आर्थिक प्रतिवेदनको पनि मूल्याङ्कन भइरहेको भनिएको छ ।
फाउन्डेसनको तर्फबाट २०७८ साल मङ्सिर २३ गतेसम्मको अनुमानित आम्दानी–खर्चको विवरण, भुक्तानी दिनुपर्ने रकम र सोको विवरण तथा २०७८ साल असार मसान्तसम्मको लेखापरिक्षण प्रतिवेदन र भौतिक प्रगति प्रतिवेदन बुझाइएको थियो ।
आर्थिक प्रगति सम्बन्धमा फाउन्डेसनको तर्फबाट सुरुवाती दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरीक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन केही दिनमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराइएको छ । प्रतिवेदन सम्बन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिने स्टाटसमा भनिएको छ ।
सामाजिक सञ्जालमा लेखिएको छ, ‘गत पुस २ गतेको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मूल्याङ्कन सुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मूल्याङ्कन भइरहेको छ । आर्थिक प्रगति सम्वन्धमा फाउन्डेसनको तर्फबाट शुरूवाति दिनदेखि ०७८ पुस मसान्तसम्मको सम्पूर्ण खर्चको लेखापरिक्षण धमाधम भइरहेको र सोको प्रतिवेदन आजभोलिमै फाउन्डेसनमा उपलब्ध हुने जानकारी गराउन चाहन्छौं । उक्त प्रतिवेदन सम्वन्धित पक्षलाई बुझाएर फाइनल भएपछि परियोजनाको वास्तविक आम्दानी–खर्च सार्वजनिक गरिनेछ ।’
राष्ट्रिय गौरवको परियोजनाका रुपमा २०७५ साल माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौंबाट रंगशाला निर्माणका लागि सम्झौता भएको थियो ।
तर, अपेक्षित जनसहयोग जुट्न नसकेको भन्दै विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध नहुँदा र विभिन्न कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तर्गतको निर्माण कार्य स्थगित गर्न बाध्य हुनुपरेको फाउण्डेशनले जनाएको छ ।
परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा सबैलाई आश्वस्त हुन आग्रह गर्दै सरकारी मूल्याङ्कनको कार्य चलिरहेको र परियोजना विधिवत रूपमा हस्तान्तरण भइनसकेको हुनाले उक्त हस्तान्तरण प्रक्रिया सम्पन्न भएपश्चात सबै विवरण सार्वजनिक गर्ने फाउण्डेशनले जनाएको छ ।
पछिल्लो समय परियोजनासम्बन्धी वास्तविकता नबुझी भ्रमपूर्ण रूपमा प्रकाशन/प्रशारण गरिएका समाचार, टिकाटिप्पणी तथा अन्य गतिविधिलाई लिएर अत्यन्त चिन्तित र दुखी भएको भन्दै आर्थिक लगायतका सबै विवरण सार्वजनिक नहुञ्जेलसम्म कपोलकल्पित आरोपहरू बन्द गरी परियोजनालाई माया गरिदिन अपील समेत गरिएको छ।
प्रतिक्रिया दिनुहोस्