८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सगरमाथाको उचाइ नाप्ने काम सकियो, उचाइ घट्यो कि बढ्यो ?


0
Shares

नवीन शर्मा र भरत केसी (इमेज)

काठमाडौं, माघ २९ । विश्वको सर्वोच्च शिखर सगरमाथाको वास्तविक उचाइका विषयमा केही वर्षयता बहस चलिरहेको छ ।

अहिलेसम्म ६५ वर्षअघि सर्वे अफ इन्डियाले गरेको मापनकै आधारमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिएको छ ।

तर, अहिले तिब्बती र इन्डियन प्लेट आसपमा जुधिरहेको तथा जलवायु परिवर्तनका कारण तीव्रगतिमा हिउँ पग्लिरहेको समयमा नेपाल आफैंले सगरमाथाको उचाइ नापेको हो ।

नापी विभागको विज्ञ सम्मिलित टोलीले निकै चुनौतीपूर्ण ठानिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नापेको छ ।

सगरमाथाको चुचुरोमा पुगेर वास्तविक उचाइ लिने कठिन काम सकेर काठमाडौं फर्किसकेको नापी विभागको टोली अहिले प्राविधिक विश्लेषण तथा अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा उचाइसम्बन्धी आवश्यक विश्लेषण गरिरहेको छ ।

तर, अन्तिम प्रतिवेदन तयार पार्न अझै कम्तीमा चार महिना लाग्ने छ ।

सगरमाथाको वास्तविक उचाइ कति भन्ने विषयमा विश्व समुदायबाट चासो र सरोकार व्यक्त भइरहेको बेला विभागकै अगुवाइमा संकलित विवरण विश्लेषण गर्ने काम भइरहेको छ ।

उचाइ मापनका लागि खटिएको टोलीले सगरमाथाको टुप्पोमा एक घन्टा १६ मिनेट बिताएको थियो ।

जुन सफलताका लागि नेपाल आफैंले साधन–स्रोत र जनशक्ति व्यवस्थापन गरेको कार्यदलका सदस्य सुशील डंगोलको अनुभव छ ।

यसअघि, सन् १९५४ मा आधिकारिकरुपमा भारतको सर्वे अफ इन्डियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नापेको थियो ।

सोही आधारमा सगरमाथाको उचाइ समुद्री सतहबाट ८ हजार ८४८ मिटर मान्यता दिइएको हो ।

त्यसपछि २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ भएको वैज्ञानिकहरुको आशंकापछि नेपाल आफैंले यो द्धुविधा हटाउन सगरमाथाको उचाइ नापेको हो ।

भिडियो हेर्नुहोस्