१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुन्छ : निर्वाचन आयोग


143
Shares

काठमाडौं । निर्वाचन आयोगले पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुने जनाएको छ ।

निर्वाचनको अन्तिम तयारीमा रहेको आयोगले कोरोना संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गर्ने विषयमा आवश्यक सबै खालका तयारी गरेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कोभिड संक्रमण र संक्रमित मतदाता पनि हुनसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिएको बताउनुभयो ।

निर्वाचनलाई लक्षित गर्दै आयोगले कोभिडको समयमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका सन्दर्भमा आवश्यक निर्देशिका पनि तयार गरेर पठाइसकिएको पनि उहाँको भनाइ छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार विभिन्न जिल्लामा गएर मतदातासँग आवश्यक सम्पर्कमा रहेको आयोगको भनाइ छ । आयोगले मतदातालाई दिने मतदाता शिक्षा पनि अनलाइनका माध्यमबाट सञ्चालन गरेको छ ।

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि देशैभर २ हजार २२५ जना मतदाता रहेको आयोगले जनाएको छ ।