२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भरतपुर महानगरद्वारा १ हजार २२० विद्यार्थीलाई न्यानो कपडा वितरण


390
Shares

चितवन । भरतपुर महानगरपालिकाले बालविकासदेखि कक्षा पाँचसम्म अध्ययरत महानगरका १२ सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

‘बालबालिकासँग मेयर’ कार्यक्रम मार्फत बाल विकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोभिड संक्रमणको जोखिम रहेपछि विद्यालयमार्फत् विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थी जाडो भएकै कारण शिक्षाबाट बन्चित हुन नदिन विगत तीन वर्षदेखि महानगरले यो कार्यक्रम गरेको प्रमुख दाहालले बताउनुभयो । राप्ती र नारायणी नदि किनारमा रहेका बालबालिकालाई लक्षित गरेर कार्यक्रम गरेको र यसले सामुदायिक विद्यालयमा विद्यार्थी बढ्न थालेको उहाँको दाबी छ ।

संघीय सरकारको दिवा खाजा कार्यक्रम र महानगरले न्यानो कपडा दिएपछि बालबालिकालाई शिक्षा हासिल गर्न सहज भएको नगर प्रमुख दाहालले बताउनुभयो । पाँच वर्षमा सामुदायिक विद्यालयमा १० हजार विद्यार्थी थप्ने महानगरले लक्ष्य लिएकोमा हालसम्म ६ हजार नयाँ विद्यार्थी थपिएको उहाँको भनाइ छ ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले १२ लाख बजेट विनियोजन गरेर टेण्डर गरि न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभयो । महानगरका १० वटा आधारभुत विद्यालयबाट छनोट गरी ती विद्यालयका विद्यार्थीलाई कपडा दिइएको हो ।

विगतका वर्षमा वितरण गरिएको विद्यालय बाहेकका विद्यालय यसपटक छनोट गरिएको शिक्षा अधिकृत ऋषि शर्माले जानकारी दिनुभयो । कोरोनाको जोखिमका कारण ती विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई संयुक्त हस्तान्तरण गरिएको हो ।