वाग्मती प्रदेशको मन्त्रिमण्डल विस्तारमा नेकपा नेतृत्वको ठाडो हस्तक्षेप

news

सुवर्ण श्रेष्ठ (इमेज)

हेटौंडा, फागुन १ । प्रदेश सरकारको काम, कर्तव्य र अधिकारका विषयमा केन्द्र सरकारले अनावश्यक हस्तक्षेप गर्‍यो भन्ने सूचीमा फेरि अर्को शृंखला थपिएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेकै दिन मन्त्रिमण्डल विस्तार गर्न लाग्दा त्यसमा नेकपा नेतृत्वले ठाडै हस्तक्षेप गरेपछि पुनः अर्को विवाद उछालिएको छ ।

वाग्मती प्रदेश सरकार र नेकपाको प्रदेश पार्टी नेतृत्वबीचको तनावकै कारण मुख्यमन्त्री डोरमणि पौडेल मन्त्रिमण्डल विस्तार गर्ने निर्णयबाट पछि हट्नु परेको छ ।

प्रदेश सरकारको काम, कर्तव्य र अधिकार क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा हस्तक्षेप भएपछि मुख्यमन्त्री पौडेलले प्रमुख सचेतक रामेश्वर फुयाँललाई मन्त्रीको शपथग्रहण गराउने बुधबारको तालिका अन्तिम समयमा रोकिन पुग्यो ।

पौडेलसँगको मनमुटावकै कारण केशव स्थापितले सम्हाल्दै आएको वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकास मन्त्रालय लामो समयदेखि नेतृत्वविहीन छ ।

मुख्यमन्त्री पौडेलले काठमाडौंका रामेश्वर फुयाँललाई सोही मन्त्रालयको जिम्मेवारी दिने निर्णयसहित शपथग्रहणको तालिका तय गरेपनि नेकपाको प्रदेश कमिटीले पार्टीले सरकार चलाउने हो भन्दै मुख्यमन्त्रीको निर्णयमा हस्तक्षेप गर्‍यो ।

यसअघि, संविधानसभा सदस्यसमेत रहेका फुयाँलले प्रदेश सरकारको महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेनिश्चित भएपछि नेकपाको एउटा धारले बधाइसमेत दिइसकेको थियो ।

तर, नेकपाकै अर्को धारले प्रदेश सरकारले पार्टी चलाउने हैसियत राख्दैन भन्दै फुयाँलको शपथग्रहण तालिका रोक्न दबाब दियो ।

यहीबीचमा मन्त्रिमण्डल विस्तारका विषयमा नेकपाको प्रदेश नेतृत्वले यसअघि मन्त्रीहरुको संयुक्त समीक्षा बैठक गरेको थियो ।

प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाललगायतको उपस्थितिमा सम्पन्न बैठकमा मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार विकासमा विभागीय मन्त्री नहुँदा समस्या परेको प्रष्टीकरणसहित फुयाँललाई मन्त्री बनाउने प्रस्ताव पेस गरेका थिए ।

तर, अष्टलक्ष्मी शाक्यले पार्टी नेतृत्वमा विस्तृत छलफल नगरी एकजना मन्त्री थप्ने प्रयत्न गरिएको भन्दै सरकारको कामको समीक्षा जरुरी रहेको तर्कसहित प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

यसअघि, प्रदेशको स्थायी राजधानी तोक्दासमेत यसरी विभाजित नदेखिएको नेकपाको पार्टीपंक्ति अहिले एकजना मन्त्री थप्ने विषयमा किन यसरी विभाजित भयो भन्ने प्रश्न उठेको छ ।

नेपाल कम्युनिस्ट पार्टीबाट वाग्मती प्रदेशसभामा प्रमुख सचेतक रहेका फुयाँल गाउँ विकास समिति अध्यक्ष, काठमाडौं जिल्ला विकास समितिको उपसभापति, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्ने चर्चासम्म पुगेका हुन् । जो मन्त्री बन्दै गर्दा नेकपाभित्र विद्यमान तीन धारको संघर्षको चेपुवामा परेका छन् ।

साथै, प्रदेश सरकारको अधिकार प्रयोगका सन्दर्भमा संघले निरन्तर हस्तक्षेप गरिरहेको भन्ने तर्कलाई बलियो बनाएको छ ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...