
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइसप्यानले समुद्रमुनिका केवलहरूमा समस्या आएका कारण इन्टरनेट सेवा प्रभावित भइरहेको जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै विश्वव्यापी रूपमा इन्टरनेट सेवा प्रवाह गर्न समुद्र मुनिका सबमरिन केवलहरू प्रयोग गरिने र विगत केही दिनदेखि यसमा समस्या आइरहेकाले इन्टरनेट सेवा प्रभावित भइरहेको प्रष्ट पारेको हो ।
पछिल्लाे केही दिनदेखि नेपालमा प्रयाेग भइरहेकाे इन्टनरनेट स्लाे हुने समस्या बढेकाे छ ।
मुम्बई–खाडी मार्गको उप–समुद्री भागका सवमेरिन केवलहरूमा समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ । यसकारण मुम्वई हुँदै युरोप मध्यपूर्व (खाडी) र अमेरिकामा पठाइने इन्टरनेट ट्राफिकमा असर परेको देखिएको आइस्प्यानले जनाएको छ ।
अपस्ट्रिम प्रदायकहरूले हालको अवस्थामा वैकल्पिक मार्गहरू प्रयोग गरिरहेका र मर्मतका लागि केही हप्ता लाग्ने जनाइएको छ । आफूहरू जतिसक्दो चाँडो समस्या समाधान गर्न अपस्ट्रिम प्रदायकहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि आइसप्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्