
काठमाडौं । नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन पुनःस्थगन गरेको छ । यही माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण सार्ने निधो भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकको निर्णयअनुसार १६ जिल्ला कार्यसमितिको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले निकालेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
आम नागरिकको स्वास्थ्य सुरक्षा दृष्टिगत गरी सरकारले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन जारी गरेका आदेश तथा पार्टीका जिल्ला अधिवेशनका प्रतिनिधिलगायत सबैको स्वास्थ्यलाई ध्यानमा राखी अधिवेशन स्थगन गरिएको बताइएको छ ।
गत मंसिर २४ देखि २८ गतेसम्म १४औं केन्द्रीय महाधिवेशन सम्पन्न गरे पनि कांग्रेसले १६ जिल्लाको अधिवेशन गर्न सकेको छैन ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके र कैलालीको अधिवेशन अझै हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्