
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमति गरेको हो ।
स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा द्विविधा देखिएकाले त्यसको निक्र्यौल गरेर अघि बढ्न निर्वाचन आयोग र विज्ञहरूसँग छलफल गरेर अघि बढ्ने सहमति गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकमा आर्थिक रूपमा मितव्ययी हुने भन्दै तीन वटै तहको निर्वाचन एकैपटक गर्ने भन्ने विषयलाई प्रवेश गराइएको थियो । तर, त्यस विषयमा विस्तृत छलफल भने नभएको मन्त्री कार्कीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्