
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
पत्रकार एलबी विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो । उपचारका लागि निजामती कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको समाचार बाहिरिएका छन् ।
यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रबार अस्पताल प्रशासन पुगेर अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानविन गरी दोषीउपर कारबाहीको माग गरेको हो ।
अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासन सँग कुरा भएको बताउनुभयो ।
अध्यक्ष बस्नेतले अस्पतालले के–कस्तो प्रक्रिया अगाडी बढाउँछ केही दिन पर्खने र सोही अनुसार प्रेस काउन्सिलले कदम चाल्ने बताउनुभयो ।
अछामको रामारोशन गाउँपालिका–५ स्थायी घर भएका २६ वर्षिय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा बसी सक्रिय पत्रकारिता गरिरहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्