१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौं उपत्यकामा आजदेखि सवारी साधनमा जोरविजोर प्रणाली लागू


1.495k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आजदेखि जोर–बिजोर प्रणाली लागू भएको छ ।

आज जोर गते जोर नम्बर प्लेटका गाडी चल्नेछन् । अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोर–बिजोर प्रणाली लागू नहुने तीनवटै जिल्ला प्रशासन कार्यालयले जनाइसकेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनकाे हकमा भने जोरबिजोर प्रणाली लागू नहुने भएकाे छ ।

यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवम् कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी सञ्चालन गर्न पाइनेछ । यसैगरी निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ ।

परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने गाडी सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ ।

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका गाडी, सरकारी र कुटनीतिक नियोगका गाडी पनि सञ्चालन गर्न पाइनेछ ।

तर यातायात व्यवसायीले सार्वजनिक गाडीमा जोर÷बिजोर प्रणाली कोरोना संक्रमण रोकथामका लागि व्यावहारिक नहुने तर्क गरेका छन् । बरु गाडी कम चले चलेका गाडीमा यात्रुहरुको धेरै भीड हुने र यसले संक्रमण थप बढाउने व्यवसायीको तर्क छ ।