
काठमाडौं । लगातार बढिरहेको कोरोना भाइरसका कारण दैनिक ५ सय भन्दा धेरै बालबालिका १८ वर्षमुनिका संक्रमित हुन थालेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दुई सातादेखि बालबालिकामा संक्रमण बढ्ने क्रम जारी भएको जनाएको छ । पछिल्लो २४ घन्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीमध्ये ५सय भन्दा बढी बालबालिका संक्रमित भएका छन् ।
शनिबार ५ सय ७९ जना बालबालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।७ माघ ७ गते १० हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६ सय ७६ बालबालिका संक्रमित भएका थिए । त्यस्तै माघ ६ गते देशभर १२ हजार ३ सय ३८ जना संक्रमति हुँदा ५ सय ९३ बालबालिका संक्रमित थिए ।
त्यस्तै माघ ५गते ५ सय ८१ बालबालिकामा संक्रमण देखिएको थियो, जब कि त्यस दिन कुल संक्रमितको संख्या ११ हजार ३ सय ५२ थियो । यसबाहेक माघ ४ गते देशभर कुल संक्रमित १० हजार २५८ हुँदा संक्रमित बालबालिकाको संख्या ५ सय ४१ थियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार माघ ३ गते मा ३ सय ७२ बालबालिका संक्रमित भएका थिए भने माघ २ गते ३ सय २३ मा संक्रमण देखिएको थियो । त्यस्तै माघ १ गते २ सय ७८ र ३० पुसमा २ सय ९९ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो ।
तेस्रो लहर सुरु भएयता पछिल्ला दुई सातादेखि देशभर संक्रमित बालबालिकाको संख्या बढ्न थालेको हो । त्यसअघि दैनिक औसत २५ जनामा सीमित रहेको बालबालिका संक्रमण गत दुई सातादेखि लगातार उकालो लागेको छ । नेपालमा ओमिक्रोनको संक्रमण फैलिएसँगै पुस अन्तिमबाट बालबालिकामा पनि संक्रमण बढ्न थालेको मन्त्रालयको तंथ्याकले देखाउँछ ।
२५ पुसमा ७५ जना बालबालिकामा संक्रमण देखिए पनि २६ पुसमा एकैदिन एक सय १६ जनामा देखिएको थियो । त्यसयता संक्रमणदर लगातार बढ्दै गइरहेको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्