१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यात पनि वृद्धि

१० खर्बको आयात हुँदा एक खर्ब १८ अर्बको मात्र निर्यात

429
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यात पनि वृद्धि भएको छ । यो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो ।

निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापारघाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा छ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो ।

यसैगरी, चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार सात खर्ब २२ अर्ब ४५ करोडको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी रहेको भन्सार विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको विभागको तथ्यांकमा उल्लेख छ ।

भारतबाट सो अवधिमा छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ ।

यसैगरी, नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ ९६ अर्ब ५६ करोड तथा चीनतर्फ ४५ करोड ६२ लाख ४७ हजार रुपैयाँ बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।