२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


८० प्रतिशत बजेट कार्यान्वयन गर्ने गण्डकीका अर्थमन्त्रीको दाबी


13
Shares

प्रदीप पौडेल (इमेज) 

पोखरा, असार २ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले ७० देखि ८० प्रतिशत बजेट खर्च गर्नेगरी काम गर्ने दाबी गरेका छन् ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस र त्यसलाई रोक्न लगाइएको ‘लकडाउन’का कारण चालू आर्थिक वर्षमा बजेट कार्यान्वयनमा समस्या  भएको उनले बताए ।

मन्त्री गुरुङले भने–‘आगामी आर्थिक वर्षमा विगतकोजसरी बजेट खर्च गर्न नसक्ने हुँदैन । अहिलेको अवस्थामा पनि ८० प्रतिशतसम्म खर्च गर्न सरकार सक्षम हुनेछ ।’

मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् ।

गण्डकी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

मन्त्री गुरुङले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले पाँच अर्ब रुपैयाँ राजस्व संकलन गर्ने महत्वाकांक्षी योजना बनाएको बताए ।

उनले प्रदेश सरकारले उठाउन पाउने सबै क्षेत्रमा कर लगाउने बताए ।

‘वन क्षेत्रमा दहत्तर/बहत्तर प्रदेश सरकारले उठाउन पाउने नियमानुसार आगामी वर्षदेखि प्रदेश सरकारले उठाउन सुरु गर्नेछ’–उनले भने ।

मन्त्री गुरुङले सरकारले कोभिड–१९ का लागि छुट्याएको दुई अर्ब ९१ करोड रुपैयाँ  बजेट पर्याप्त भएको दाबीसमेत गरे ।

विपक्षी दलका नेताहरुले बजेट कोरोनाकेन्द्रित भएन भनेर गरेको आलोचनाप्रति संकेत गर्दै उनले भने–‘हामीले चाहेरपनि कोरोनाका लागि योभन्दा बढी बजेट छुट्याउन सक्दैनौं ।’

संघ, प्रदेश र स्थानीय तह मिलेर कोरोनासँग लड्नुपर्ने भएकाले प्रदेशको बजेट पर्याप्त हुने उनले जिकिर गरे ।

प्रस्तुत बजेटमध्ये चालू खर्चतर्फ १४ अर्ब ८४ करोड २६ लाख ८४ हजार तथा पुँजीगत खर्चतर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री गुरुङले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको पनि बताए ।

कुल बजेटमा चालु खर्चतर्फ ४१.२ प्रतिशत, पुँजीगततर्फ ५७.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत रहेको छ ।

गत वर्ष चालू आवका लागि ३२ अर्ब १३ करोड ४७ लाखको बजेट ल्याइएकोमा आव २०७५/०७६ मा २४ अर्ब दुई करोडको बजेट आएको थियो ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत खोजेर बजेट ल्याएको मन्त्री गुरुङले बताए ।