मनाङ, थ्रीस्टार र हिमालयन शेर्पा विजयी

news

काठमाडौं, फागुन २ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा मनाङ–मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।

मनाङ १–० जावलाखेल

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

साविकको विजेतासमेत रहेको मनाङको जितमा निशान लिम्बूले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा निशानले गोल गरेका थिए ।

जितसँगै मनाङले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गर्ने पक्का भएको छ । मनाङले १३ खेलमा २८ अंक जोड्यो । मनाङको दोस्रो हुने गणितीय सम्भावना भने जीवित नै रहेको छ ।

अन्तिम खेलमा मच्छिन्द्र आर्मीसँग ५ गोल अन्तरले पराजित भएमा मनाङ दोस्रो स्थानमा रहने छ ।

जावलाखेलले लिगको १३ खेलमा १९ अंक जोडेर छैटौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ ।

थ्रीस्टार २–० च्यासल

यसअघि, शुक्रबारै भएको दोस्रो खेलमा थ्रीस्टार क्लबले आफ्नो अन्तिम खेलमा जित निकालेको छ । खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

थ्रीस्टारलाई जित दिलाउन अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मव्राले एक/एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा थ्रीस्टारले दुई गोल गरेको हो ।

जितसँगै थ्रीस्टारले लिगमा सुखद् अन्त्य गरेको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टारले १३ खेलबाट २६ अंक जोडेको छ ।

च्यासल १३ खेलमा १५ अंक जोड्दै आठौं स्थानमा रहेको छ ।

हिमालयन शेर्पा २–१ एनआरटी

शुक्रबारै भएको पहिलो खेलमा लिगको आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

हिमालयन शेर्पाका लागि स्टेफन समिर र त्रिदेव गुरुङले एक/एक गोल गर्दा एनआरटीका राजेश परियारले एक गोल गरे ।

हिमालयन शेर्पा क्लब १४ अंकसहित तालिकाको दशौं स्थानमा उक्लियो । एनआरटी १५ अंकसहित नवौं स्थानमा यथावत् रह्यो ।

शनिबार अन्तिम खेल

जारी लिगको अन्तिम खेल शनिबार दशरथ रंगशालामा हुनेछ । शनिबार दिउँसो साढे १ बजे हुने त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीचको खेलबाटै यसपटकको लिग विजेता छानिने छ ।

अहिलेसम्म आर्मी २९ अंकसहित पहिलो, मच्छिन्द्र २८ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...