सरकार असफल भएको विश्लेषकको तर्क

news

रोमन आचार्य र सुयेश मानन्धर (इमेज)

काठमाडौं, फागुन २ । राष्ट्रवादी छवि बनाएर केपी ओलीले झण्डै दुईतिहाइको शक्तिका साथ सत्ता सम्हालेको दुई वर्ष पूरा हुँदा सरकारले जनस्तरबाट भने स्यावासी पाउन सकेको छैन ।

संघीय प्रणालीसहितको नयाँ संविधान कार्यान्वयनको चुनौती लगभग सामना गरे पनि अरु दृष्टिकोणबाट सरकारले जनतामा आशा जगाउन सकेको छैन ।

सिंहदरबार छिर्दा प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा थियो । चुनावताका उनले बाँडेको रेल र पाजीजहाजको सपनाले पनि जनता ओलीप्रति नतमस्तक थिए ।

अघिल्लो वर्षको पुसमै उनले पानीजहाजको टिकट काट्न निम्तासमेत दिएका थिए । तर, ती सपना दुई वर्ष पुग्दासमेत पूरा हुने छाँट छैन ।

घर–घरमा ग्यास पाइपलाइन पुर्‍याउने विषय विराटनगरमा गोबरग्यास उद्घाटन गरेसँगै मजाकको विषय बन्यो ।

सरकारले दुई वर्षमा बहुमतको दुरुपयोग गरेको राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तको तर्क छ ।

सरकारको मुख्य चुनौती संघीयताप्रति जनमत बढाउनु पनि थियो । तर, सरकार आफैं केन्द्रिकृत मनसिकताबाट चलेको र स्थानीय तहलाई अधिकार दिन नसक्दा गुनासोको चाङ बढेको विश्लेषण गर्छन्, राजनीतिक विश्लेषक लोकराज बराल ।

डा. बराल यो सरकारले समावेशी लोकतन्त्रको मर्मअनुसार आफूलाई प्रस्तुत गर्न नसकेको बताउँछन् ।

चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराएर सरकारले सन्तुलित परारष्ट्र नीति अवलम्बन गर्न खोजेको देखिन्छ ।

तर, विश्लेषक पन्त परराष्ट्र नीतिमा ओली सरकार धरमराएको विश्लेषण गर्छन् ।

समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको सरकार सुशासन कायम गराउने सन्दर्भमा थुप्रै निर्णयहरु गर्ने र पछि हट्ने गर्दै आएको छ भने सरकारका आलोचकहरुलाई ठेगान लगाउने नियतले अनुदार कानुनहरु बनाउन पनि उद्दत देखिन्छ ।

त्यसमाथि ठूल्ठूला भ्रष्टाचार र अयिनमितताका काण्ड एकपछि अर्को गर्दै सतहमा आउनुले सरकारका आगामी दिन पनि खासै उपलब्धिपूर्ण होलान् भनेर आशा गर्ने ठाउँ देखिँदैन ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...