
काठमाडौं । सेनेगल र मोरक्को अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको प्रि–क्वाटरफाइनलको खेलमा केप भर्डेलाई २–० ले हराउँदै सेनेगल क्वाटरफाइनलमा पुगेको हो । खेलमा केप भर्डेका कोरिया एन्ड्राडे र इभोरा डियासले रातो कार्ड पाएपछि टोली ९ जनामा समेटिएको थियो । यसैको फाइदा उठाउँदै सेनेगलका सादियो माने र बाम्बा डियङले एक एक गोल गरे ।
खेलको क्रममा विपक्षी गोलरक्षकसँग टाउको ठोक्किएपछि सेनेगलका माने केही समय बेहोस भएका थिए । यसपछि पनि खेलमा निरन्तरता दिन खोजेका मानेलाई केही समयमै मैदानबाट बाहिर निकालिएर उपचारको लागि अस्पताल पठाइएको थियो ।
यस्तै, गएराति भएको दोस्रो खेलमा मोरक्कोले मलावीलाई २–१ ले हराएको थियो । खेलमा मलावीका गाबादिनो मांगोले पहिलो गोल गरे । तर मोरक्कोका योसुफ एन–नेसेरी र अच्राफ हकिमीले एक एक गोल गर्दै टोलीलाई क्वाटरफाइनलमा पुर्याए ।
अफ्रिका कप फुटबलमा प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज राति हुने छन् । आज दुई उपाधि दावेदार टोलीहरु आइभोरी कोष्ट र इजिप्ट भिड्दा मालीले इक्वेटोरियल गिनीसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्