
काठमाडौं । युक्रेनमा जारी संकट समाधानका लागि कुटनीतिक प्रयासहरु भइरहेका बेला अमेरिका र नाटोले रुसको मागमा छुट्टाछुट्टै प्रतिक्रिया दिएका छन् ।
रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले रुसलाई युक्रनेमाथि आक्रमणका प्रयास रोक्ने प्रतिवद्धता गर्न माग गर्नुभएको छ । जारी गतिरोध अन्त्यका लागि रुसले गम्भीर कुटनीतिक प्रस्ताव गर्नुपर्ने राजदूत सुलिभानको जवाफमा माग गरिएको छ ।
उहाँले अमेरिका र उसका सहयोगी एवम् साझेदारहरुको सुरक्षालाई कमजोर पार्ने कममा रुस सक्रिय रहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभएको छ । रुसले उठाएका मुद्दाको सैद्धान्तिक र व्यवहारिक मूल्यांकन गर्न अमेरिका सक्षम रहेको पनि जवाफमा उल्लेख छ ।
रुसले युक्रेनको सीम नजिकै एक लाख भन्दा बढी सेना तैनाथ गरेसँगै विश्वासको वातावरण बिग्रिएको अमेरिकाको आरोप छ । तर, रुसले भने युक्रेनमा आक्रमण गर्ने योजना नरहेको भन्दै अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।
यता, नाटोका महासचिव जेन्स स्टोल्टेनवर्गले भने अमेरिकासँगको द्वन्द्व कुटनीतिक रुपमा समाधानका लागि पहल गर्न रुससँग आग्रह गरेको छ ।
अमेरिका र नाटो सम्वद्ध अधिकारीहरुले केही सातादेखि रुसी अधिकारीहरुसँग निरन्तर वार्ता गरिरहेका छन् । तर, अझै पनि समस्याको समाधान भने हुन सकेको छैन । यता, रुसले भने अमेरिका र नाटोको प्रस्ताव थप अध्ययन गर्ने प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया दिनुहोस्