
-सन्जिव कार्की
हाम्रा कतिपय परम्परा, संस्कार र संस्कृति परिस्कार र परिमार्जन योग्य छन् । अर्थात वैज्ञानिक र व्यवहारिक रुपमा समसामयिक बनाउन ढिला भएका छन् । तर पनि समाजमा विज्ञानको नियम यो छ भनेर जोर जबर्जस्ती गर्न सकिन्न त्यो प्रत्युत्पादक बन्न सक्छ । समाज परिवर्तनको गति धिमा र सुस्त छ । जबकी छुवाछूत, जातीय भेद, छाउ, बोक्सी जस्ता अत्यन्तै अवैज्ञानिक प्रथा र परम्परा हुन् ति प्रथा र परम्परालाई समाजबाट जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने छ । तर समाजको मनोवैज्ञानिक पक्ष यसमा तत्काल परिवर्तन गर्न अटेरी गरिरहन्छ । हाम्रो समाज आज पनि अन्धपरम्परा र अन्धविश्वासले डोरिएको छ ।
हाम्रो समाजमा जन्म, संस्कार, न्वारान, ब्रतबन्ध, बिबाह अनि मृत्यु संस्कारका अनेकन रिति र थितिहरु छन्, जसको सामयिक सुधार समयको माग हो । तर विज्ञान सम्मत र आधुनिक युग सुहाउँदो नभएपनि सामाजिक रूपमा हानी नोक्सानी नगर्ने संस्कार र संस्कृति हाम्रा सनातन देखिका धरोहर हुन् । धर्म संस्कृति र रितिथिती जीवन शैली र सामाजिक लय मात्रै होईन परिचय पनि हुन् । त्यसैले समाज सामाजिक लय भङ्ग गर्न चाहँदैन । यद्यपी, कहिलेकाँही विविध कारणले समाजको लय चुडाउनुपर्ने हुन्छ । छुवाछूत र जातीय विभेद जस्तो मानवअधिकारको उलंघन पनि समाज स्वीकार गरेर अपनाउँदै बसेको छ । तर यी र यस्ता यावत कुप्रथाको विरुद्ध समाज जागृत हुनु जरुरी छ ।
हो हाम्रो धर्म, संस्कार र संस्कृति अवैज्ञानिक छ तर पनि यसमा रातारात चामत्कारिक परिवर्तन खोज्नु महाभुल र विरोधाभाषपूर्ण क्रान्तिकारीता हुन जानेछ । कारण आफ्नै परिवार र समाजको मनोवैज्ञानिक पक्ष नबुझेर सजिलोको नाममा कतिपय राजनैतिक नेता, कार्यकर्ता लगायत अन्यले विद्रोह प्रदर्शन गरेर आफन्तको मृत्यु हुँदा किरिया गर्न समेत छोडेको पाइएको छ । तर एउटा व्यक्तिले आधुनिक बन्न खोजेर गरेको विद्रोहमा परिवार र समाजको आस्था र विश्वासमा कुठाराघात भएको हुन्छ । आफ्ना मृतक आफन्तको आत्माको शान्तिका लागि गरिने कर्म नगरेर जसले मृतक प्रतिको विनयसिलता गुमाएको हुन्छ त्यो कर्मले अरु आफन्त र परिवारजनको मन मस्तिष्कमा आघात पारेको हुन्छ । परम्परादेखि गरि आएको चलन छोडेर जसले क्रान्तिकारिताको ढोंग रचेका छन् तिनीहरूको परिवारमा कसै न कसैलाई मानसिक आघात पर्न गएको हुन्छ । जसको परिणाम राम्रो निश्चय नै हुँदैन । यो विज्ञान सम्मत तर्क हो ।
युगौंदेखि अपनाउँदै आएको शैली र बानीमा एकाएक, हतप्रभ, एक्कासी परिवर्तनले परिणाम अपेक्षाकृत आउँदैन । यो प्रमाणित तथ्य हो । उदाहरणको लागि नशालु वस्तुहरुको सेवन गर्ने बानी लागेको व्यक्ति नशाबाट मुक्ति पाउन डाक्टरकोमा पुग्दा डाक्टरले चटक्क छोडीहाल्न भन्दैनन् । चुरोट, रक्सी, लागूपदार्थ लगायतका नशा छुटाउन पर्दा बिस्तारै कम गर्दै लाने र मनोवैज्ञानिक रुपमा उपचार गरीसकेपछि मात्रै छोड्न लगाउँछ्न् । नत्र परिणाम झन घातक हुन्छ भन्ने कुरा बिरामी, हामीले बुझ्न जरुरी हुन्छ । हो यही कुरा समाजले अपनाएको धर्म ,संस्कार र परम्पराको हकमा पनि लागु हुन्छ ।
सदियौंदेखि हुर्कंदै आएको र हाम्रो शरीरको प्रत्येक रक्तकण कणमा बहेको, समाजको हर व्यवहारमा देखेको, सुनेको, गरेको गहिरो छाप र प्रभाव रहेको संस्कारलाई चटट्कै परित्याग गर्न मुस्किल हुन्छ । कथंकदाचित छोडियो भने पनि त्यसले उत्पन्न गर्ने मनोवैज्ञानिक त्रास, भय र डरको स्थान उच्च रहन्छ जसको कारण आफैप्रति खेद पैदा हुन्छ र कुनै असफलता, कुनै अशुभ भयो भने आफ्ना मरेर जाने आफन्तको उचित संस्कार गर्न नसकेको कारण भनेर दोषभागी आफू नै रहेको महशुस हुन्छ र मनमा आफूले गरेको गलत निर्णयप्रति पश्चाताप अनुभूत हुन्छ र प्रायश्चित गर्ने मनस्थिति बन्छ ।
हाम्रो धर्म, संस्कार, प्रथा, परम्परा र रितिरिवाज भर्खरै निर्मित र सिर्जित कुरा होइनन् । यिनीहरू मानव निर्मित हुन् तर परापूर्व कालदेखि प्रचलित रहँदै आएर वर्तमानसम्म पनि मानव जीवनको अभिन्न लय र आचरण पद्धति बनेर रहेका छन् तसर्थ आजको भोलि यो बदल्न सकिन्न । हामी सबैलाई थाहा छ हाम्रा कतिपय प्रथा र परम्परा अवैज्ञानिक र अविवेकी छन् त्यसैले चलनचल्तिको रुपमा रहेका हाम्रा ति संस्कारहरुलाई तुरुन्तै बदल्नु वा त्याग्नु अत्यन्तै जरुरी छ जसको लागि राज्यले पहल कदमी लिनु र एक्सनमा जानुपर्छ । छाउ, बोक्सी, जातीय छुवाछूत जस्ता मानवअधिकारको उलंघनले हाम्रो सभ्यतामा कालो पोतेको छ । तर यता सोच्न छोडेर हाम्रो ध्यान आफन्तको मृत्युपछि गरिने अन्तिम किरिया कर्म छोडेर क्रान्तिकारी बन्नुमा पुगेको छ ।
हाम्रो किरिया कर्म विशेषतः हिन्दुहरुको कष्टपुर्ण ,कठोर र खर्चिलो छ । जसलाई सामयिक र यूग सुहाउँदो परिमार्जन र परिस्कार गर्नुपर्ने छ तर विज्ञानसम्मत र भौतिकवादी हुनुको अर्थमा यो संस्कारलाई पुरै त्यागेर समाजको लय माथि नै प्रश्न चिन्ह ठड्याउनु होइन । यसो गर्दा सामाजिक लय भत्किन्छ । पारिवारिक संरचनामा विचलन आउँछ र समाज र परिवारमा आघात पुग्छ । त्यतिमात्रै होइन आफन्तको मृत्यु पश्चात किरिया नगर्नेहरुको परिवारमा मानसिक विचलन आई परिवारका सदस्यहरु हतास निरास हुने गरेको देखिन्छ ।
यस्तो किन हुन्छ त भन्दा समाजमा गहिरो जरा गाढेर रहेको हाम्रो संस्कार र त्यही संस्कारमा हुर्के बढेको पालित पोषित मनोवैज्ञानिक प्रभाव छ । यसलाई हामी चाहेर पनि उखेल्न सक्दैनौं । कारण यो संस्कार हिजो भर्खर पलाएको झारपात होईन यो त हजारौं अघि रोपिएर हुर्केको वर पिपल हो । जसको ज़रा समाजको हर क्षेत्रमा पुगेको छ । त्यसैले हामी सनातनीहरुको धर्म, संस्कार र संस्कृति भन्ने कुरा एक अर्कोमा जेरी जेलिए झैं जेलिएकोले हामीलाई समाजको लय भन्दा भिन्न र पृथक रहन मुस्किल हैन महामुस्कील हुन्छ । विद्रोह गर्ने हो भने जीवनको लय नै खज्मज्जिन पुग्छ ।
अहिले त्यस्तै भएको छ । सुनिंदै छ पूर्वमन्त्री रविन्द्र अधिकारीको पुनः विधिवत काजकिरिया सम्पन्न गरिंदैछ । विशेष परिस्थितिमा बाहेक खण्डित रूपमा र किस्ताबन्दीमा काजकिरिया गरिदैंन । आफन्त देश परदेश रहेको कारण सम्बन्धित समयमा आउन नसकेको छोराछोरीले सुनेपछि यसरी गर्ने प्रचलन छ तर सम्पूर्ण परिवार भएर पनि क्रान्तिकारी परिवर्तनकारी कम्युनिस्ट हुनुको नाताले रविन्द्र अधिकारी परिवारले सात दिनसम्म केवल शोक मात्रै मनाएर बस्यो तर अहिले पुनः विधिवत रुपमा व्राम्हणोचित कर्म गरिनुमा परिवार र समाजको मनोवैज्ञानिक पक्षले काम गरेको मेरो बुझाइ छ । भौतिकवादी समाजशास्त्री सांसद विद्या भट्टराई लगायत उनका दुई छोरालाई त खासै प्रभाव पार्यो पारेन तर रविन्द्रका वृद्ध बाबुआमाको मनले भने शान्ति पाउन सकेन ।
अन्तिम संस्कार आफ्नो परम्परा अनुसार नभएकोमा वृद्ध अधिकारी दम्पती पक्कै नराम्रोसँग पिरोलिएर झस्किए । कारण उनीहरूको मस्तिष्कमा जरा गाढेर बसेको आत्माको चिरशान्तिको कुरा लगायत आत्माले मृत्यु पश्चात प्राप्त गर्ने स्वर्ग र नर्कको स्थानले व्यथित बनायो । यथोचित दान, धर्म र किरियाकर्मको अभावमा मृतक स्वर्ग प्रवेश नपाउने भ्रम रहेको हाम्रो समाजमा स्वभाविक मृत्यु वरण गरेको हकमा सबै परम्परा पूरा गर्नुपर्ने धार्मिक कानुन र मान्यता रहेको छ । त्यसमा पनि अस्वाभाविक मृत्यु दुर्घटना, भवितव्य आदिको कारण मृत्यु भएका मान्छेहरुको आत्मा भडकने र अशान्त रहने हुनाले यस्ता व्यक्तिको मृत्यु संस्कारमा विशेष देखभाल गर्नुपर्ने परम्परागत सोच र संस्कारबाट हुर्केको पुस्तालाई रूपान्तरणको नाममा संस्कार त्याग्न लगाउँदा अनेकन घातक मनोवृत्ती र मनस्थिति उत्पन्न हुन्छ ।
मृत्युकर्म आफ्नो खुशीले गर्न नपाएको पीडाले कहिँ कतै मानसिक आघात र अबरोध पुगेको पक्कै छ । रविन्द्रको किरियाकर्म परम्परागत रुपमा गरिएन । सामान्य कर्म पनि नगरी ७ दिन शोक मनाउने काम भन्दा अरु बढी केही गरिएन । हाम्रो किरिया परम्परा नवौ दिन देखि १३ दिनसम्म बढी महत्त्वपूर्ण र नगरी नहुने कर्मको रूपमा प्रचारित छ । तर सातौं दिनको दिन नै शोकसभा गरेर आधुनिक किरिया समापन गरियो । जसको कारण रविन्द्रका बाबुआमाको मन अशान्त बन्ने कारण बन्यो र आफ्नो मृत्युपछि पनि स्वर्ग जाने बाटो बन्द हुन्छ भन्ने भ्रमले मनमा घर गर्यो । तसर्थ पुनः किरिया गरेर मनको शान्ति प्राप्त गर्ने कर्म हुँदैछ । वैदिक विज्ञान रुपमा रहेको मृत्यु संस्कार मनोवैज्ञानिक कुरा मात्र हैन । मृतकको पूर्ण चरण पूरा हुन ११/१४ दिन लाग्छ, त्यसैलै १३ दिने काजकिरियाको विधान गरिएको हो भन्ने मान्यता छ
यावत प्रार्थना, विनयशिलता, नम्रता, कृतज्ञता र शिष्टतालाई कुरिती र कुसंस्कार भन्नेहरू पनि छन । हुन त प्रार्थनालाई जीवनबाट निकालेर अधम, नक्कली, वनावटी व्यवहारले जीवन धान्नेहरु समाजको मनोवैज्ञानिक पक्ष भन्दा आफ्नो आदर्श र सिद्धान्तलाई महान सम्झन्छ्न् जसको परिणाम समाज अभद्र, हिंस्रक र अनुशासनहीन भएको छ । अवैधानिक र अवैज्ञानिक नै सही तर जुनसुकै जात र धर्मले अंगिकार गरिखाएको मृत्यु संस्कार अपरिहार्य छ । तर यसमा केही हदसम्म परिवर्तन आवश्यक छ निन्दा र परित्याग होइन । बलजफ्ती परित्याग गरिदा प्रत्युत्पादक हुने कुरामा कतैकहीँ शंका रहेन ।
समाजले अपनाएको मृत्यु पश्चात् गरिने कर्ममा मान्छेको मनोविज्ञान र आस्था रहेको हुन्छ । मृतक प्रतिको विनयशिलता र भक्तिभाव रहेको हुन्छ । सो गुमाउन र सोबाट बन्चित रहन मान्छे मान्दैन । अहिले रविन्द्रको सबालमा पनि यही तथ्य अर्थात मनोवैज्ञानिक पक्ष हावी भएको हो ।
आफ्ना मृतक सन्तानप्रति अन्याय गरियो, अतृप्ती र अप्राप्तीको सपना देखियो जसले गर्दा त्यागिएको कर्म सच्याउन मन लाग्यो । अहिले ू लोकनाथ कस्यप रविन्द्र अधिकारीको किरिया प्युठानको त्रिवेणीमा रवीन्द्र परिवारको सहमति र सहयोगमा बसिरहेका छ्न् । पुनरावृत्तक्रिया कर्म समापन पश्चात मात्रै फाल्गुन ५ गते रविन्द्रको वार्षिकी गरिने छ । ‘यसले पुष्टि गर्न खोजेको कुरा के हो भने परिवर्तन जरुरी छ गर्न सकिन्छ तर हठात त्याग्न सकिन्न । हामीले गरिने हरेक क्रियाकलापलाई परिमार्जन र परिस्कृत गर्दै सरल र सहज बनाउँदै लैजानु श्रेयस्कर र बुद्धिमानी हुनेछ । क्रान्तिकारिता हठमा होइन समसामयिक व्यवहार र समाजको चेतसँगै खुल्दै र आत्मसात गर्दै जानुपर्छ । प्रचण्ड परिवार आज जुन मानसिक अशान्तिमा गुज्रिएको छ त्यसको परोक्ष अपरोक्ष कारण यस्तै हो । त्यहाँ पनि प्रचण्डले आफ्नी आमाको किरिया गरेनन्, बाबुको पनि गरेनन् , छोरीको पनि गरेनन् र छोराको पनि गरेनन् । हाम्रो धार्मिक मान्यता अनुसार यहाँ हेक्का राख्नुपर्ने कुरा के हो भने प्रचण्डको भौतिकवादी चेत र उनकी पत्नी सीताको चेत समान र बराबर छैन र होइन त्यसैले ब्यक्ति प्रचण्डको चेत भन्दा परिवारको चेतले काम गर्छ त्यसैले नाता, सम्बन्ध र परिवार भित्र बस्ने हो भने सामाजिक रुपमा समाजले दिएको भूमिका निर्वाह गर्नै पर्छ । राजनीति त्यसपछि आउने कुरा हो यसलाई समय सापेक्ष ढंगले मनन गर्न जरुरी छ ।
यहाँ व्यक्तिगत रुपमा प्रचण्ड जसरी किरिया नगर्न धर्म नमान्न प्रतिबद्ध छ्न् उसैगरी उनकी पत्नि सीता मनोवैज्ञानिक रूपमा तयार थिइनन् ! फलतः मानसिक विक्षिप्तताको कारण प्रचण्डले पुनः बिबाहदेखि रामदेव आश्रममा गई पुज्न समेत लगाउनु परेको बाध्यता हाम्रै अगाडि छ । मानसिक शान्ति भन्दा ठूलो सुख अरु छैन र हुँदैन भन्ने कुरा जगजायरै छ । परिवर्तनको नाममा किरिया नगरेर परम्परा तोड्ने दुस्साहस समाजको चेतना भन्दा फरकको कुरा हुनजान्छ जसको सामाजिक असर मात्रै होईन अनेकन मनोवैज्ञानिक असर र प्रभाव पनि देखिन थाल्छ । परम्परागत सामाजिक स्कूलिङमा रहेका हाम्रा पुस्तालाई परिवर्तन गर्न समय लाग्छ तर बलपूर्वक र हठात परिवर्तन मूर्खता हो । भाग्यवादको जालोमा जकडिएको संस्कारमा स्वर्ग र नर्कको भ्रममा बाँचेको पुस्तालाई मृत्युकर्ममा बन्देज असहज र अस्वाभाविक लाग्नु स्वभाविक हो । हामीले हाम्रो संस्कार, संस्कृति र रितिथितीको परिवर्तन चेतनशील र विवेकशील भएर गर्न सक्छौं बलात्कारबाट होइन । व्यक्ति एक्लो केही होईन उसले आफूलाई प्रगतिशील र समाजवादी देखाउन जे समाजमा गर्दैछ त्यो हाम्रो धरातलिय यथार्थसँग विल्कुल मेल खाँदैन । मरेर गएका पितृप्रति कृतज्ञ बन्न छोडनु आफ्नो मौलिकता गुमाउनु हो । मौलिकता गुमाउँदा ब्यहोर्नु पर्ने अनिस्ट कहिले कसलाई पो सुखद हुन्छ र ?
सामान्य मान्छेको कुरामा त समाज गहिरो अभिरुचि राखेर नियाल्दै बसेको हुन्छ भने देशका लब्धप्रतिष्ठित र उच्च पदस्थ भनेका त देशका अग्रज हुन् । तिनले गर्ने विधिविधान र अपनाउने शैली अनि तौरतरिकाले समाजमा तरङ्ग उत्पन्न गर्छ । झन किरिया संस्कार जस्तो मृतकको नाममा गरिने अन्तिम धार्मिक विधि विधानमा अरुची राखेर कर्मकाण्ड त्याग्दा समाजको धारणालाई र त्यसले पार्ने सामाजिक र पारिवारिक असरलाई आँखा चिम्लन मिल्दैन ।
किरिया कर्मलाई शोकमा परिणत गरेर छोट्याउनेले पुनः किरिया गर्न उत्पेरित हुनुपर्ने अवस्था आइलाग्यो भने किरिया कर्म त परको कुरा जल्ने अधिकारबाट समेत बन्चित भएर अस्पतालको चिसो फ्रिजमा बसेका गोरखाका नन्द प्रसाद अधिकारी र काभ्रेका अजित मिजारहरुको पारिवारिक मनोदशा कस्तो होला ? एकचोटी ठण्डा दिमागले मन्थन गर्ने कि ? समस्या सामधान वैज्ञानिक कारणबाट मात्रै हुँदैन । हाम्रो समाजमा अन्धविश्वासमा पनि शक्ति छ । यसलाई सकारात्मक तवरले ग्रहण गर्नु उपयुक्त हुन्छ । संस्कार, संस्कृति धर्म बारे पुनरावलोकन आवश्यक छ । तर क्रमिक रुपमा सुधार गर्दै अघि बढनुपर्छ । जोर जबरजस्ती केही पनि फलिफाप हुन्न । क्षणिक रुपमा आधुनिकताको नाममा वाहवाही बटुले पनि परिणाम घातक र अशान्तिको कारण बन्न सक्छ ।
फलतः प्रचण्ड परिवार अशान्त छ, रवीन्द्रको परिवारमा अशान्ति भएर नै आत्मिक शान्तिको लागि पुनः विधिवत परम्परागत किरिया कर्म गर्न लगाइयो । खुशी हरण गर्ने आधुनिकता भन्दा शान्ति र सुखानुभूती दिने परम्परा नै ठिक भन्न सकिन्छ, सन्दर्भ र समय परिस्थितिको आलोकमा । कुरिति, अन्धविश्वास र कुसंस्कारको नाममा जुन समाजले त्याग्न नहुने कुरा त्यागेको छ, छोडेको छ प्रार्थना र विनयशिलता गुमाएको छ त्यहाँ मानवता जिवित रहने संभावना एकदमै न्यून रहन्छ । समाजमा अवैज्ञानिक प्रचलन भन्दै हाम्रा धरोहर र मान्यता विचलित बन्दैछ । अनुशासन भंग गर्दैछ । यसले हामीलाई हाम्रो परिचयात्मक पाटोबाट विमुख बनाउँछ र भोली आफ्नो परिचय खोज्न बाध्य बनाउँछ ।
प्रतिक्रिया दिनुहोस्