९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


धन्यवाद सरकार, ढिलै भएपनि उपस्थिति देखाएकामा !


0
Shares

काठमाडौं, फागुन ४ । सरकारले चीनको हुबेई प्रान्तमा रहेका १७५ नेपाली विद्यार्थीलाई आइतबार विहान उद्धार गरेर काठमाडौं ल्याएको छ । निकै त्रासमा रहेका विद्यार्थीलाई आफ्नै देशमा उद्धार गरेर ल्याएकामा प्रधानमन्त्री केपी ओलीसहित यस काममा जुट्नै सबैलाई धन्यवाद छ ।

यद्यपि, यति सानो कामका लागि सरकारले जसरी समय लगायो । आफ्ना सन्तानलाई स्वदेशमा ल्याउनका लागि अभिभावकहरु आन्दोलनमै उत्रन पर्नेसम्मको जुन परिस्थिति निर्माण भयो त्यो उचित थिएन । तर जे भयो भयो । आफ्नो देश फर्केर आफ्ना अभिभावकको माया र माटोको स्पर्श गर्न चाहिरहेका विद्यार्थी मात्र होइन आन्दोलनमा उत्रिन विवश आफन्तजनमा अपूर्व खुशी छ । ढुक्कको श्वास फेरिरहेका छन् । समग्र नेपाली जनताले पनि सरकारको यस कामको सह्राना गरिरहेका छन् ।   

भलै विश्व स्वास्थ्य संगठनले नै लगाएको नियमलाई पालना गर्दै अरु १४ दिन उनीहरु परिवार र आफ्नो घरभन्दा अलग किन बस्नु नपरोस् । शनिबार चीन हुबेई प्रान्तको वुहानबाट ल्याइएका सबै १७५ जना अहिले भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा आश्रय लिइरहेका छन् ।

आफै क्वारेन्टाइनमा बस्नु परेपनि नेपाल वायुसेवा निगमको पाइलटसहितका क्रू मेम्बरहरुले अन्यौल र झण्डै निराशामा छटपटी रहेका विद्यार्थीलाई सहज सेवा उपलब्ध गराए । अहिलेसम्म खोप र औषधि फेला नपरिसकेको भाइरसको आक्रमणमा कुनै पनि बेला पर्नसक्ने त्रास बोकेर बसिरहेका आफ्ना सन्तानले मुलुकमा आफू सकुशल आइपुगेको जानकारी गराउँदा कुनचाहिं अभिभावकको आँखा आँशुले नभरियोस् !

प्रत्येक पटकको संवादमा आफूहरुको उद्धारका लागि के प्रगति भइरहेको छ ? भन्दै सोधिने प्रश्नको उत्तर दिन नसक्दाको निरीहताले कति पोलेको थियो होला, नेपालमा भएका अभिावकहरुलाई । आफ्ना मुटुका टुक्राहरुको बिरानो भूमिमा बगेका आँशु देख्दा कुनचाहिं अभिभावक निदाउन सके होलान् एक महिना यता ?

हो, एउटा नागरिकलाई यस्तै बेला हो देश दुख्ने । देश चाहिने । आफू असहाय भएको अनुभूति हुने । यत्तिका लागि त हो आफ्नो अधिकार कटौति गरेर नागरिकले राज्यलाई सुम्पेको । अघिपछि त किन चाहियो ? जनताले कर तिरेकै छन् । आफ्नो गाँस कटाएर पनि सिंहदरबारदेखि गाउँको टोलेसम्मका शासक पालेकै छन् । तर दुःख र अफ्ठ्यारो पर्दा सरकारको उपस्थिति हुन सकेन भने त्यो के काम ? कस्का लागि चाहियो त्यस्तो सरकार ? यस अर्थमा चौतर्फी दबाब र आलोचना पछि नै भएपनि सरकारले चीनमा रहेका विद्यार्थीको उद्धार गरेर एउटा सह्रानीय काम गरेको छ ।

बिरानो ठाउँमा मर्नु पो पर्ला कि भनेर अत्तालिएका छोराछारीले ‘आमा÷बा अब मलाई केही डर छैन । नेपाली माटोमा सास फेर्न पाए । उद्धारको पहल गरेकामा धन्यवाद ।’ भन्दा ति अभिभावकको मन कति भारी भयो होला ? अनुमान मात्र गर्न सकिन्छ, अनुभूति जसले गर्दैछन् कस्तो भयो होला भनेर । जे होस्, एउटा त्रासबाट मुक्त हुन खोजेका विद्यार्थीहरु आफ्नै घर आँगनमा पुगेका छन् । 

उद्धार गरिएका अधिकांश एमबिबिएस अध्ययनरत विद्यार्थी हुन् । त्यसैले पनि उनीहरुलाई थाहा छ, यस्को गाम्भीर्यता । वुहानमा रहेका १ सय ८५ विद्यार्थीले नेपाल पठाउन आग्रह गर्दै चीनस्थित नेपाली दूतावासमा फारम भरेपछि उद्धारको प्रयास थालिएको थियो । बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरुलाई पनि धन्यवाद ।

चीन जाने जहाज उडाउने पाकिस्तानी पाइलट र क्रू मेम्बरको साहसको तारिफ मात्र होइन तिनले गरेको मानवीय सेवालाई पनि सलाम गर्नै पर्दछ । आफ्नै देशको माटोमा फर्काएर ल्याएका विद्यार्थीलाई राख्न हुन्न भनेर आन्दोलनमा उत्रनेहरुले यी चालक दलका सदस्यहरुबाट केही त सिकून् ।

१ डिसेम्बर २०१९ मा पहिलो पल्ट पत्ता लागेको नोबेल कोरोना भाइरसबाट ९ जनवरी २०२० मा पहिलो पटक एक जनाको मृत्यु भएको थियो । त्यसयता चीनमा मात्र १ हजार ६६९ जनाको मृत्यु भैसकेको छ । विश्वभर ६९ हजार २७६ जना प्रभावित भएकामा चीनमा मात्र यो भाइरसबाट ६८ हजार ५०७ जना प्रभावित भएका छन् । यसको चपेटमा चीनसहितका एशियाली मुलुक मात्र नभई अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, इटली, रुस, स्पेन, बेल्जियम, फिनल्याण्ड जस्ता यूरोपेली मुलुकहरु पनि आएका छन् ।