
काठमाडौं । उद्योगी व्यवसायीका तीनवटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाको प्रतिरक्षामा उत्रेका छन् ।
तीनै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै सिमेन्ट उद्योगीमाथि भ्रष्टाचार मुद्दा लगाएर निजीक्षेत्र लाई नै हतोत्साही बनाउन खोजिएको टिप्पणी गरेका हुन् । कोभिड–१९ महामारीबाट विस्तारै तंग्रिन खोजिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट निरन्तर प्रहार भइरहेको उनीहरुको भनाइ छ ।
‘यसले नेपालमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रको विकास एवं विस्तारमा नकारात्मक प्रभाव पर्नेमा निजी क्षेत्र गम्भीर चिन्ता व्यक्त गर्दछ’– विज्ञप्तिमा भनिएको छ ।
आयात प्रतिस्थापनमा नमुनाका रूपमा हेर्न सकिने एवं लगानी अभिवृद्धि, रोजगारी सिर्जना र राजस्वमा महत्वपूर्ण योगदान दिइरहेको सिमेन्ट उद्योगका लगानीकर्तामाथि पछिल्लोपटक लगाइएको मुद्दाले निजी क्षेत्रलाई हतोत्साही बनाएको निजी क्षेत्रको ठहर छ ।
सरकारबाट नीतिगत सहजीकरण भएको अवस्थामा निर्यातको उच्च संभावना रहेको सिमेन्ट उद्योगलाई प्रताडित गरिनु दुर्भाग्यपूर्ण रहेको उसको भनाइ छ । आर्थिक पुनरोत्थान एवं कोभिडपश्चात निजी क्षेत्रको विस्तारका लागि विभिन्न देशहरूले प्याकेज घोषणा गर्दै शीघ्र आर्थिक विकासको बाटो अवलम्बन गरेका छन् ।
तर नेपालमा भने भ्रष्टाचारजन्य कसुर लगाउन खोज्नु निजी क्षेत्रमाथिको प्रहार भएको भन्दै यसले नेपालमा निजी क्षेत्रको विस्तारमा गम्भीर असर पर्नेतर्फ सचेत रहन उनीहरुले सम्बन्धित सबैमा आग्रह गरेका छन् ।
‘विषम परिस्थितिमा पनि जोखिम उठाएर लगानी, रोजगारी, राजस्व र मुलुकको विकासमा अथक योगदान दिइरहेको निजी क्षेत्रलाई निर्वाध व्यवसाय गर्न प्रोत्साहित गरिदिन नेपाल सरकारलगायत अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवं सम्पूर्ण सरोकारवालाहरूमा निजी क्षेत्र हार्दिक आग्रह गर्दछ’– विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्