
काठमाडौं, फागुन ५ । क्यान इन्फोटेकको चौथो दिन सोमबार पनि अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता जारी रह्यो ।
सूचना, प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको यो २६औं संस्करण हो ।
मेलामा अवलोकनकर्ताहरुको मुख्य आकर्षणमा अफरसहितका स्टल परेका छन् ।
मेलाकै अवसर पारेर विभिन्न प्रविधि कम्पनी, संघ–संस्थाहरुले सेवा लिन चाहनेहरुका लागि विशेष छुट, अफरलगायत घोषणा गरेका थिए ।
अवलोकनकर्ताहरु पनि अफर र छुट भएका स्टलहरुमा झुम्मिएको देखिन्थ्यो ।
शुक्रबारदेखि सुरु भएको नेपालकै ठूलो प्रविधि प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, एक्सेसरिज, सफ्टवेयर निर्मातालगायतका कम्पनीहरुले ग्राहकहरुका लागि छुट तथा अफरहरु दिइरहेका छन् ।
मेलामा एनसेलले आफ्नो स्टलबाट एक रुपैयाँमै सिम उपलब्ध गराइरहेको छ । सिममा ग्राहककले १० मिनेको निःशुल्क टकटाइम र १० ओटा एसएमएस निःशुल्क प्राप्त गर्नेछन् ।
यस्तै, उक्त सिममार्फत् ग्राहकले तीन दिनको लागि दुई जीबी डाटा निःशुल्क पाउनेछन् ।
यस्तै, मेलामा इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक, सुबिसु, भायानेटलगायतका कम्पनीहरुले अवलोकनकर्ताहरुका लागि भन्दै विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन् ।
छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिन सक्ने सुविधाहरु राखिएको छ ।
छुट्टै पेभेलियनमा राखिएका मोबाइल, एसेसरिजलगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोहीअनुसारका छुट तथा अफरहरु दिइरहेका छन् ।
विभिन्न ब्राण्डका मोबाइल कम्पनीहरुले अवलोकनकर्ताहरुका लागि भन्दै मेलाको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट, एकओटा मोबाइल खरिद गर्दा एकओटा सित्तैमासमेत दिइरहेका छन् ।
छुट धेरै हुने र केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजकले जानकारी दिएका छन् ।
१७४ ओटा स्टलसहितको मेला बुधबारसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्