१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपतिमा विवाद : ‘कृपालु’ र ‘वनकाली’ नाममा अल्झिए कोष र समिति

हस्तान्तरणको समयमा सम्झौतामै विवाद

273
Shares

काठमाडौं । सरकारी निकायसँग निजी क्षेत्रले गरेका सम्झौताहरू विवादमा पर्ने क्रम बढेको छ ।

स्पष्ट सहमति नगर्ने, सहमतिको आफू अनुकूल व्याख्या गरेर विवाद झिक्ने काम अहिले सामान्यझैं हुन थालेको छ ।

सहमति विपरीत काम गरिएको भन्दै गत शनिबार पशुपति क्षेत्रको वनकालीमा निर्माण गरिएको एक उद्यानको प्रवेशद्वारमा रहेको कृपालु नामको बोर्ड हटाएपछि विवाद बढेको छ ।

१३ असार २०७१ मा पशुपति क्षेत्र विकास कोष र राधामाधव समितिबीच पशुपति वनकाली क्षेत्रमा वाटिका निर्माण गर्ने सहमति भएको थियो ।

सहमतिअनुसार कुण्ड रहेको स्थानमा पोखरी र कुण्ड नै पुनर्निर्माण लगायतको काम अन्तिम चरणमा पुगेको देखिन्छ ।

सम्झौताको बुँदा १२ मा बगैंचाको उपयुक्त स्थानमा ‘कृपालु उद्यान’ नाम राख्न सकिने उल्लेख गरिएअनुसार समितिले बगैंचाभित्र कृपालु उद्यान नाम त राख्यो ।

तर, प्रवेशद्वारमा पनि कृपालु उद्यानको बोर्ड राखेपछि कोष र समितिबीच विवाद चर्किएको छ ।

समितिले नामका विषयमा कोषसँग पटक–पटक लिखित सम्झौताबमोजिम समाधान निकाल्नुपर्ने जोड दिएको बताएको छ ।

तर, विनाजानकारी प्रवेशद्वारको नाम हटाएर कोषले हस्तक्षेप गरेकोसमितिका उपाध्यक्ष सुरेशप्रकाश आचार्य गुनासो सुनाउनुहुन्छ ।

बोर्ड हटाउने क्रममा उद्यानका स्वयंसेवकमाथि हातपात हुँदासमेत प्रहरी मुकदर्शक बनेको पीडितको गुनासो छ । त्यसो त विनाजानकारी हस्तक्षेप भएको घटनालाई कोषले अस्वीकार गरेको छ ।

कोषले समितिसँग विवादित नामको विषयमा पटक–पटक छलफल गरेरै सहमति अनुसार बोर्डको नाम हटाइएको दाबी गरेको छ ।

कृपालु नामबारे जनगुनासोसँगै सरकारी निकायबाट हटाउने निर्देशन आएपछि समितिसँगको सहमतिमै बोर्ड हटाएको कोषका प्रवक्ता रेवतीरमण अधिकारी बताउनुहुन्छ ।

पशुपतिमा निर्माण भएका वस्तुमा मौलिक वस्तुलाई लुकाउन नपाइने र सोही नाम नै श्रद्धालु र भक्तजनमाझ प्रवर्द्धन गर्नुपर्ने विषयमा पहिले नै सहमति भइसकेको उहाँको भनाइ छ ।

हिन्दु वैदिकशास्त्रमा उल्लेख गरिएका भगवानका लिला प्रतिविम्बित हुने गरी निर्माण गरिएको यो उद्यान नामको विषयले विवादमा परेको छ ।

फूल, विरुवा, पोखरी, झरनासहितको उद्यान हस्तान्तरण हुने अवस्थामा पुगेको बेला सम्झौताको किचलो निस्कनु शोभनीय देखिँदैन ।