१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


८ नयाँ आकाशेपुल बनाउँदै काठमाडौं महानगरपालिका


0
Shares

अशोक घिमिरे/शर्मिला पाठक (रासस)

काठमाडौं, साउन २२ । काठमाडौं महानगरपालिकाले चालू आवमा पैदलयात्रीको अत्यधिक चाप देखिएका ८ स्थानमा स्थानान्तरण गर्नसकिने नयाँ आकाशेपुल निर्माण गर्ने भएको छ ।

दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रीको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।

कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर रामबहादुर थापाले भने–‘दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पैदलयात्रीको सुरक्षा गर्न पुल बनाइनेछ ।’

टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौं जिल्ला अदालत), पुतलीसडक, महाराजगन्ज, कोटेश्वर, गौशालाचोकमा पुल बनाइनेछ ।

सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रीलाई बाटो काट्न समस्या पर्दै आएको छ ।

पैदलयात्रीले जथाभावी बाटो काट्दा सवारीजामको अवस्था देखिँदै आएको छ ।

विज्ञापन राख्न नपाइने

नयाँ ती पुल बनाउन रु १२ करोड बजेट विनियोजन गरिएको प्रमुख थापाले बताए ।

विज्ञापन राख्न नमिल्ने गरी केही स्थानको आकाशेपुलको डिजाइन तयार भएको र अन्यको तयारी चरणमा छ ।

महानगरले यसअघि निर्माण गरेको आकाशेपुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो ।

कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाएको छ ।

गत आवमा कामपाले विज्ञापन करबापत रु १० करोड ९४ लाख ८६ हजार ७९ असुल गरेको थियो ।

नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्नसकिनेछ । यस्तो पुल पहिलोपटक बन्न लागेको हो ।

यसअघि, परीक्षणकारुपमा पुरानो बसर्पाकअगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनाइएको थियो ।

डिजाइन तयार भएका पुल बनाउन बोलपत्र आह्वान यही साउनभित्रै गरी निर्माण सुरु गरिने प्रमुख इन्जिनियर थापाले बताए । अब बन्ने पुल भने कामपाले आफ्नै खर्चमा बनाउन लागेको हो ।

कामपाभित्र सुन्धारा, नयाँसडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशेपुल चालू छन् । रत्नपार्कमा एउटा सब–वे छ ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएका पुल मर्मत गर्न नपर्ने अवस्थामा छन् ।

अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको इन्जिनियर थापाले बताए ।

वीर अस्पतालअगाडिको पुल अत्यन्त जीर्ण छ ।

कामपाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकाले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उनले बताए । मर्मत गर्न महानगरले समन्वय गर्नेछ ।

कामपाले चालू आव २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत् गरेको थियो ।

जसअन्तर्गत् भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब ६ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिनेछ ।

कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले ८ मिटरभन्दा कम चौडाइका सडकमात्र मर्मत–सम्भार गर्छ ।

कामपाभित्र ८ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।