
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन २२ । प्रदेश नम्बर–७ को स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशसभा तातेको बेला डोटीको दिपायललाई नै राजधानी बनाउनुपर्ने माग डोटीवासीले गरेका छन् ।
भौगोलिक, ऐतिहासिक, भौतिक अवस्था, भाषिक तथा सांस्कृतिक र सुरक्षा एवं सामरिक दृष्टिकोणले दिपायल नै उपयुक्त हुने भन्दै उनीहरुले प्रदेश राजधानी माग गरेका हुन् ।
दिपायलमा राजधानी बनाउँदा पहाडी सात जिल्लालाई न्याय हुने र जिल्लामा विकासको सन्तुलन कायम हुने उनीहरुको भनाइ छ ।
उनीहरुले अस्थायी राजधानी धनगढी पुगेर मंगलबार प्रदेश सरकार, प्रदेश सभामुख र प्रमुख प्रतिपक्षी दललाई ज्ञापनपत्र बुझाएका छन् ।
उनीहरुले मंगलबार धनगढीमा प्रदर्शनसमेत गरेका थिए ।
यसअघि, तत्कालीन सरकारले स्थायी राजधानी तोक्नेक्रममा राजधानी माग गर्दै डोटीमा ६४ दिनसम्म आन्दोलन भएको थियो ।
डोटीसहित पहाडमा रहेका सबै जिल्ला अन्यायमा परेकाले न्यायका लागि दिपायलमा राजधानी आवश्यक रहेको जिकिर दिपायल राजधानी संघर्ष समितिको नेतृत्व गरिरहेका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले गरे ।
उनले आफूहरुमाथि अन्याय नहुने विश्वासका साथ प्रदेश सरकार गुहार्न आएको भन्दै दिपायलमा राजधानी हुँदा डोटीलाईमात्र नभइ पहाडी सबै जिल्लालाई न्याय हुने बताए ।
बसाइँसराइका कारणले तराईका जिल्लामा जनसंख्या वर्सेनि बढ्दै गएको र पहाडी जिल्लामा घट्दै गएकाले तीव्र बसाइँसराइ रोक्न एवं पहाडी जिल्लामा विकासको सन्तुलन कायम गर्नका लागि दिपायलबाहेक अन्यत्र राजधानीको विकल्प नरहेको संघर्ष समितिको ठहर छ ।
धनगढीमै स्थायी राजधानी भएमा पहाडी जिल्लावासी राजनीतिक अधिकार र विकासबाट बन्चित हुने संघर्ष समितिको तर्क छ ।
ज्ञापनपत्र बुझ्दै प्रदेश सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाको दुईतिहाइ बहुमतले जहाँ राजधानी कायम गर्छ, त्यहीँ हुने संविधानमा व्यवस्था रहेको बताए ।
उनले दुईतिहाइले डोटीभन्दा अन्यत्र राजधानी तोकेमा ऐतिहासिक, भौतिक, भाषिक विशिष्टताको कदर गर्दै डोटीलाई सहायक राज्यकोरुपमा विकास गर्नसकिने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्