
हरिविनोद अधिकारी ।
सामाजिक न्याय के हो ?
– सामाजिक न्यायको अर्थ र परिभाषा दिन सजिलो हुनसक्छ तर यसको वास्तविक मर्मको व्याख्या गर्न कठिन छ ।
– सामाजिक न्यायको बारेमा भन्ने गरिन्छ कि यसको ठ्याक्क अर्थ पनि दिन सकिँदैन र परिभाषा पनि छैन । तर सामाजिक न्याय भन्ने बित्तिकै व्यक्तिको सशक्तीकरण सम्बन्धमा र समाजको राजनीतिको, अर्थनीतिको संरचनागत अन्यायको समाधान गर्ने उपाय भन्ने बुझ्नु पर्दछ ।
– सामाजिक न्याय सबैको सकारात्मक पक्ष समेट्ने सामूहिक अधिकार हो जसले व्यक्ति तथा समाजलाई सशक्त बनाउँछ ।
– सामाजिक न्याय नयाँ धारणा हो किनभने यो संयुक्त राष्ट्रसंघको बडापत्रमा पनि समेटिएको थिएन, मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा पनि राखिएको थिएन, त्यसपछि घोषणा गरिएका, तयार गरिएका विभिन्न महासन्धी तथा प्रतिज्ञापत्रहरुमा पनि राखिएको थिएन ।
– सामाजिक विकाससम्बन्धी विश्व शिखर सम्मेलन १९९५ र त्यसको पाँच वर्षपछि विश्व सहस्राब्दी लक्ष्य तयार गर्दा भने सामाजिक न्यायलाई अपरिहार्य विषयवस्तुका रुपमा राखिएको पाइन्छ ।
– सामाजिक न्याय— सबैको समान हित हुनुपर्छ भन्ने अवधारणा
– सामाजिक न्याय शिक्षा—सबैको समान हित हुने ज्ञानसम्बन्धी कुरा
– शिक्षामा सामाजिक न्याय—सबैका लागि शिक्षा प्राप्तिमा, विशेषरुपमा शिक्षा प्राप्तिमा वा विशेष ज्ञान, सीप तथा व्यवसायका वारेमा शिक्षा प्रदान गर्दा वा प्राप्त गर्दा अपनाउनु पर्ने सामाजिक, आर्थिक, राजनीतिक उपाय
– सामाजिक न्यायका लागि शिक्षा—सामाजिक न्याय प्राप्तिका लागि शिक्षाको भूमिका
सामाजिक न्यायको क्षेत्र
सामाजिक न्यायको क्षेत्र भनेको मानिसको बाँच्ने अधिकारसँग सम्बन्धित छ । समाजमा मानिस बस्दछन् । समाजको निर्माण गर्ने पनि मानिस हो । समाजको आवश्यकता मानिसलाई नै परेकोले मिलेर बस्ने एउटा प्रक्रिया मानिसले सुरु गरेका हुन् । समाजमा कसरी मिलेर बस्ने भनेर केही अलिखित नियम बनाइयो । पछि मानिसले नै ती नियम मान्न बाध्यता देखाएन । त्यसपछि मानिसलाई नै बन्धनमा राख्न मानिसले नै लिखित नियम, कानुन, संविधान, कारागार, दण्ड र सजायँको व्यवस्था गरेको देखिन्छ । समाजको निर्माणदेखि आजको अवस्थासम्म आइपुग्दा मानिसले आफैं विरुद्ध आफू उभिनु पर्ने अवस्था पनि धेरै पटक आयो र उभियो पनि । आफ्नो प्रतिवद्धतामा अडिग भएर उभिने पनि मानिस नै भयो । कार्य सम्पादनको सिलसिलामा मानिसका कामका हिसाबले तहको पनि निर्माण हुनगयो । एउटा काम अह्राउने तहमा पुग्यो र अर्को काम गर्ने तहमा देखियो । काम अह्राउने र काम गर्ने वा नगर्ने पनि मानिस नै हुनगयो । आफ्नो भनाइ नमान्ने वा मान्ने पनि मानिस नै भएकोले त्यहाँ दण्ड र पुरस्कारको प्रक्रिया अपनाइयो । दण्डका विरुद्धमा उठ्ने पनि मानिस नै भयो । त्यसपछि भइरहेको प्रक्रियामा नै समानता वा न्याय खोज्ने र समाजमा सबै बराबरीको सिद्धान्त बनाउन मानिस नै बाध्य भयो । आजको असमानता, अविवेक, अन्याय, अत्याचार र थिचोमिचो त्यसैको परिणाम हो । त्यसैले समाजमा स्थापित देखिने–नदेखिने न्यायको सूक्ष्म पुनरावलोकन गरी समय सापेक्षरुपमा मानवोचित न्याय प्राप्त गर्न र गराउन सामाजिक न्यायको प्रसङ्ग आउने गर्दछ । आजको सामाजिक न्यायको प्रसङ्गमा यी भनाइहरू आउने गर्दछन्ः
– समाजका सबै सदस्य बराबरीका हकदार हुन् , कोही ठूलो वा सानो हुँदैन । जन्मदा नहुने विभेद जीवनमा गर्नुहँुदैन । कसैलाई ठूलो सानो बनाउँदा समाजमा भेदभाव हुन्छ । समाजको संरचना नै त्यस्तो बनेको छैन । समाजमा सबै सम हुन् भन्ने अवधारणा नै सामाजिक न्याय हो । धनीले गरिबलाई शोषण नगर्ने, पढेकाले नपढेकालाई नठग्ने, माथिल्लो जात भनिनेले तल्लो जात मानिनेलाई बराबरी ठान्ने, सँगै बसेर खानपिन गर्ने, गोराले कालालाई बराबर मान्ने, अन्तर्राििष्ट्रय भाषा बोल्नेले स्थानीय भाषा बोल्नेलाई उत्तिकै सम्मान गर्ने, केन्द्रीय भाषा बोल्नेले स्थानीय भाषिका बोल्नेलाई आफैंसरह ठान्ने प्रवृत्ति नै सामाजिक न्याय हो । सामाजिक न्यायको सम्बन्ध व्यक्तिको समुदायप्रतिका्े त्यो नैतिक जिम्मेवारी हो जसको अन्तिम लक्ष्य सर्वसाधारणको कल्याण गर्नु हो । समाजमा कसैमाथि हुने भेदभावविना सही व्यवहार गर्नु, जुन कुरा सही छ त्यसको रक्षा गर्नु, विशेषतः द्वन्द्वपूर्ण अवस्थामा निष्पक्षतापूर्वक व्यक्तिलाई समायोजित गर्नु नै सामाजिक न्यायतर्फको पहिलो कदम हुन जान्छ । समाजभित्रको न्याय, समाजमा न्याय, सबै सरह सबैलाई न्याय, व्यक्तिगतभन्दा सामुदायिक प्रवृत्तिको बराबरीको हकअधिकार जे भने पनि सामाजिक न्यायले दण्ड र पुरस्कारसँग पनि सरोकार राख्दछ ।
– व्यक्तिहरूबाट, समुदायहरूबाट र समाजबाट स्वीकृति प्राप्त प्रचलन नै सामाजिक न्याय बन्न पुग्दछ । यस्ता सामाजिक न्यायका अवधारणाहरूले सामाजिक संस्थाहरूमा पनि ग्राह्यता पाएका हुन्छन् ।
– समाजमा धनका कारणले, सोचाइका कारणले, पढाइका कारणले, शक्तिका नजिक र टाढाका कारणले, गुणकर्मप्रकृतिका कारणले समानता र असमानता पाइन्छ । ती असमानताका बीचमा समानता खोजेर मानवीय मूल्यको जगेर्ना गर्नु नै सामाजिक न्याय हो ।
– त्यसैले सामाजिक न्याय भनेको त्यो संरचना हो जहाँ जात, वर्ग, वर्ण, लिंग, भाषा आदिको भेदभावविना समाजमा विद्यमान सबै किसिमका बन्धन र असमानताको अन्त्यका लागि नागरिक स्वतन्त्रता, सहभागिता, शक्तिको वितरण, सामाजिक—साँस्कृतिक न्याय, सम्पत्ति, अवसर र आयको न्यायोचित रूपले वितरण हुन्छ ।
सामाजिक न्याय केका लागि ?
सामाजिक न्यायलाई संकुचित अर्थमा मात्र अथ्र्याउन मिल्दैन । सामाजिक न्याय कसैको पृष्ठपोषण गर्न वा विरोधमा लाग्न सुरु गरिएको तर्क नभई समाजमा सवैको समान हक सिर्जना गर्ने प्रयासको थालनी हो । सामाजिक न्यायलाई जोन रावल्सले यसरी परिभाषित गरेका छन् ः समाजका आधारभूत संस्थाहरूमा सवै नागरिकको समान अधिकार र कर्तव्यको प्रत्याभूति प्रदानगर्ने, लाभ तथा सामाजिक सहयोगको बोझ समान र न्यायोचित वितरण गर्ने प्रक्रियाको नाउँ नै सामाजिक न्याय हो । यथार्थमा सामाजिक न्यायको प्रक्रिया र लक्ष्य नै समाजमा देखिन, भोगिने सवेप्रकारका शोषण, दमन र शक्ति प्रयोगका विरुद्धको सामाजिक आन्दोलन हो , सापेक्षित सत्य र न्यायको खोजी हो । सामाजिक न्यायले राजनीतिक सत्ताबाट मात्र होइन,, सामाजिक परिवेशमा पनि न्यायको अनुभूति गराउने उपाय खोजिनु पर्ने कुरामा जोड दिन्छ ।
सामाजिक असमानताका कारणले अन्याय महसुस हुन्छ । त्यसबाट समाजमा धेरैवटा समस्याहरू देखा परेका छन् । कार्ल माक्र्स सम्पत्तिको असमान वितरणले समाजमा स्वतः असमानता निम्त्याएको मान्दछन् भने म्याक्स वेबर असन्तुलित शक्ति वितरण वा केन्द्रीकृत शक्ति प्रणालीका कारणले असमानता उत्पन्न भएको मान्दछन् । राल्फ डाहरेन्डर्फ व्यक्तिहरूमा प्राप्त सीमित वा असीमित अधिकारका कारणले नै आफैंमा कोही ठूलो वा कोही सानो सम्झिइने चलनले समाजमा असमानता बढ्दै गएको बताउँछन् । लेन्स्कीले त अझ शिक्षा , धर्म,पेसा,सम्पत्ति , लिंग र उमेरका कारण र आधारमा समेत असमानता बढ्दै गएको ठानेका छन् । निकोस पोलान्त्जासका बिचारमा पण्डित, पुरोहित, राजनीतिज्ञ, विद्वान तथा साहित्यकारहरूका बीचको विविधताले पनि असमानता मौलाएको छ । राजनीतिक प्रक्रियामा देखिने कार्यकारी प्रमुख, न्याय सेवा, निजामती सेवा, सेना, धर्म, संसद तथा आम सञ्चारका विविधताले र तिनका आ—आफ्ना महत्वले पनि समाजमा असमानताले जरो गाडेको देखिन्छ । आन्थोनी गिडेन्सले प्रचलित परम्परा, अधिकार प्राप्त व्यक्तिहरू र साँस्कृतिक विविधताका कारणले देखिने असमानतालाई इंगित गरेका छन् ।
समाजमा विभिन्न प्रकारबाट शोषण वा दमनले स्थान प्राप्त गरेको हुन्छ । शोषण वा दमन कहीँ पनि ग्राह्य हुँदैन तर समाजमा त्यसले जानिंदो वा नजानिंदो पारामा जरो गाडेको हुन्छ , त्यसैले शोषण वा दमनबाट असमानताको जग बस्दछ अनि शोषणबाट असमानता प्रष्ट देखिन्छ । शोषण सामान्यतः तीनप्रकारबाट हुने गरेको पाइन्छ—व्यक्तिगत, साँस्कृतिक र संस्थागत । व्यक्तिगतरुपमा देखिने शोषण वा दमनको रुपमा अर्काप्रति हेरिने दृष्टिकोण, सामाजिकीकरणमा देखिने विविधता, व्यक्तिगत आनीबानी, विश्वास तथा व्यक्तिहरूबीचको अन्तरक्रियालाई लिन सकिन्छ । साँस्कृतिक प्रक्रियाममा देखिने शोषण वा दमनको स्वरुप भनेको समाजको मूल्य र मान्यता, आवश्यकता, सुन्दरता, लैंगिक व्यवहार, सामाजिक आकांक्षा, भाषा चाडबाड, सार्वजनिक विदा र सामाजिक सोचााइ हुन् । संस्थागतरुपका सोचाइमा शोषणमा शिक्षा, धर्म, सरकार, रोजगारी, सञ्चार, स्वास्थ्य सेवा र कानुनी प्रणाली पर्दछन् ।
व्यक्तिगत, साँस्कृतिक तथा संस्थागत शोषणबाट असमानता फैलिरहेको पाइछ । कतिपय असमानता थाहा नभइकन भइरहेको हुन्छ । प्रत्येक व्यक्ति आफ्नो स्वतन्त्र पहिचान कायम गर्न चाहन्छ । प्रत्येक व्यक्ति अर्को व्यक्तिभन्दा चरित्र, बानी व्यवहार र धारणाले फरक हुन्छ । तर मानवीय स्वभाव भने कोहीभन्दा आफू कम नभएको र आफ्नो स्वाभिमान बचाइराख्ने हुन्छ । यो सामाजिक, मनोवैज्ञानिक, भौतिक र साँस्कृतिक मान्यताबाट पनि निर्देशित भइरहेको हुन्छ । व्यक्तिगत पहिचानको कुरा गर्दा प्रत्येक व्यक्ति परिवारमा वा समाजमा आफ्नो दृष्टिकोणले मान्यता पाओस् भन्ने ठान्दछ । उसको बिचार तर्कपूर्ण तरिकाले चित्त बुझाउने गरी मात्र नकार्न सकिन्छ, सक्नुपर्छ । त्यो एउटा व्यक्तिको पहिचान हो ।
दमनात्मक तरिकाले हुने सामाजिकीकरणले व्यक्तिलाई निमुखो वा विद्रोही बनाउँछ । निमुखो हुँदा उसको सम्पूर्ण स्वाभिमान हराएको हुन्छ र उसको पहिचान केही हँुदैन, उसलाई पहिचानको जरुरत पनि पर्दैन । जब ऊ विद्रोही हुन्छ, उसले दमनका सबै कारक तत्वहरूको अन्त्य गर्न स्वतः लाग्छ ।
व्यक्तिको पहिचान गर्नुभन्दा व्यक्तिको पहिचान जोगाउने काम सामाजिक न्यायको परिधिभित्र पर्दछ ।
शिक्षामा सामाजिक न्याय
– शिक्षामा सामाजिक न्याय भन्नाले समुदायको अवधारणालाई स्पष्ट पार्छ ।
– समाजमा सामाजिक समानताका स्थापनाका लागि शिक्षा प्रदान गरिन्छ ।
– सामाजिक समानता प्राप्तिका लागि शिक्षकलाई विषयगत तथा पेसागत तालिम दिइन्छ ।
– समुदायको कल्याणको अवधारणासम्बन्धी ज्ञान, सीप तथा विचारहरु विद्यार्थीहरुलाई दिइनु पर्दछ ।
– त्यसका लागि पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षक निर्देशिकाहरुमा सामाजिक न्यायसम्बन्धी तत्वहरु समावेश गरिनु पर्दछ ।
– जात जाति, धर्म, वर्ण, लिङ्ग, उमेर, समूह, महिला, अल्पसंख्यक, यौनिक अल्पसंख्यक, पिछडिएको क्षेत्रमा सही बसोबास गरिरहेका, सही अर्थमा छुवाछुत र सामाजिक वहिष्करण परिररहेका सीमान्तीकृत तथा दलितको कुनै भेदभाव नराखी विविधतामा आधारित, विभेदरहित समावेशी, अधिकारमा आधारित रही शिक्षा प्रदान गर्नुलाई सामाजिक न्यायमा आधारित शिक्षाको रुपमा लिने गरिएको छ ।
– समुदायको जीवनस्तर सुधार्नका लागि गरिने सकारात्मक रुपान्तरण, द्वन्द्व व्यवस्थापन, सबै जनताको समान सहभागिता र समान उपलब्धिको अवसर सुनिश्चित तथा विभेदको अन्त्य गर्नु नै शिक्षाको मूलभूत उद्देश्यका रुपमा रहनु पर्दछ ।
– सामाजिक न्याय सबै नागरिक तथा समुदायका लागि एकदम जरुरी छ । त्यसैले यो पाठ्यक्रम, पाठ्यपुस्तकका विषयवस्तु,कक्षामा गरिने शैक्षिक क्रियाकलापभन्दा पनि प्रक्रिया र उपलब्धिमा आधारित हुन्छ । सामाजिक न्यायको परिधिभन्दा पनि बाहिर रहेका, बहिष्करणमा परेका तथा सीमान्तीकृत व्यक्ति तथा समाजको मूलधारमा कतै पनि नदेखिएका र नसमेटिएका व्यक्ति तथा समूहलाई सामाजिक न्याय प्राप्तिका लागि आवश्यक ज्ञान, सीप तथा दक्षताको विकास गर्ने तत्वहरु पहिचान गरी शैक्षिक प्रक्रियामा समावेश गर्नु पर्दछ ।
शिक्षापछि सामाजिक न्याय कि सामाजिक न्यायपछि शिक्षा ?
वास्तवमा यो एउटा यक्ष प्रश्न बनेको छ कि शिक्षा प्राप्त नभई सामाजिक चेतना प्राप्त हुँदैन र सामाजिक न्यायको प्रत्याभूति भनेको नै शिक्षाले मात्र दिन सक्दछ । कुन पहिले त ? सामाजिक न्याय प्राप्तिका लागि आवश्यक पर्ने चेतनाका लागि शिक्षा नै अपरिहार्य तत्व हो, त्यसैले पनि शिक्षालाई आधारभूत आवश्यकता र मौलिक हकको रुपमा लिइएको छ विश्वव्यापी रुपमा । अवसरको लागि पनि शिक्षा आवश्यक छ । सामाजिक न्यायको सिद्धान्तले पनि के भन्दछ भने वञ्चित समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारले सुसज्जित पार्न पनि उनीहरुलाई सशक्तीकरण गर्नु अनिवार्य छ । मानवीय सशक्तीकरणका लागि शिक्षा नै पूर्वशर्त पनि हो र परिणाम पनि हो । त्यसैले सामाजिक न्याय प्राप्तिका लागि पहिलो पूर्वाधार नै शिक्षा उपलब्ध गराउनु हो । एउटा सर्वमान्य धारणा के छ भने शिक्षा प्राप्ति पछि सामाजिक न्याय प्राप्त गर्न सवै मान्छे स्वतः सक्षम हुन्छन् । सामाजिक न्यायको वितरणको लेखाजोखा गर्न पनि शिक्षाको नै जरुरत पर्दछ । तर अर्को समस्या के देखापर्दछ भने शिक्षा प्राप्ति नै यत्ति दुरुह भएको छ कि यो नै सर्वप्रथम सामाजिक न्यायको पहिलो शर्तको रुपमा उपलब्ध गराउनु पर्दछ । आज शिक्षालाई मौलिक हकको पनि प्राथमिकस्वरुपमा लिइएको छ । शिक्षा पाउनु पनि सामाजिक न्यायको आधारभूमि हो र सामाजिक न्याय पाएको भनेको नै शिक्षा पाउनु हो । यसलाई केस्रा केस्रा गर्न पनि सकिँदैन तर शिक्षा प्राप्त गर्नु नै सामाजिक न्यायको पहिलो खुड्किलो चढ्नु हो भनेरचाहिँ मान्नु पर्दछ ।
सामाजिक न्यायको लागि कहाँ कहाँ के केको आवश्यकता परेको छ भन्ने थाहा पाएर र कहाँ कहाँ के के उपलब्ध छ र कति कति कहाँ कहाँ आपूर्ति गर्नुपर्दछ भन्ने थाहा नपाई केही गर्नु हुँदैन । यसका लागि अनुसन्धान जरुरी छ । त्यसैलाई सामाजिक न्यायका लागि अनुसन्धान भनिएको हो । शिक्षाद्वारा नै सामाजिक न्याय दिन र प्राप्त गर्न सकिन्छ भने पछि त शिक्षाका सवै उपायमा अनुसन्धान जरुरी छ । आवश्यकता पहिचान र कस्तो शिक्षा उपलब्ध गराउने भन्ने कुरादेखि नै अनुसन्धान जरुरी छ । पाठ्यक्रमको निर्माण देखि सुधारसम्ममा अनुसन्धान जरुरी छ । समाजको धारणा र समाजको परिवर्तनीय स्वभावबाट सुरु हुने अनुसन्धान, पछि समाजले प्राप्त गरेको परिणामसम्मको लेखाजोखा गरेर अघि बढ्नु पर्दछ ।
नेपालमा सामाजिक न्यायका लागि शिक्षाको प्रयोग
नेपालका विभिन्न योजनाहरुमा शिक्षालाई विकासको पूर्वाधारको रुपमा लिएर प्राथमिकताको क्षेत्र तोकिएको पाइन्छ । शिक्षा उपलब्ध गराउनका लागि सबैका लागि शिक्षा भनेर शिक्षा उपलब्ध गराउनका लागि विभिन्न उपायहरु अवलम्बन गरिएको पनि पाइन्छ । शिक्षालाई संवैधानिक रुपमा मौलिक अधिकारको क्षेत्रभित्र समेटिएको पनि छ । महिला, उत्पीडित जाति जनजाति, अपाङ्ग, दलित, दुर्गम क्षेत्र, सीमान्तीकृत जाति, जोखिममा परेको जाति आदिलाई शिक्षा प्राप्तिका लागि सरकारबाट सुविधा दिइएको पनि छ । त्यस्तो सुविधा बालविकासदेखि उच्च शिक्षासम्मका लागि उपलब्ध गराइएको छ । कानुनमा पनि र व्यवहारमा पनि सकारात्मक विभेदको नीति लिइएको देखिन्छ ।
शिक्षा बिना सामाजिक न्याय पाउन सकिँदैन भनेर समाजमा शिक्षाको सहज प्राप्तिको व्यवस्था गरिएको हुन्छ ।
प्रतिक्रिया दिनुहोस्