२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्छ : मन्त्री खाँण


39
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

द्रुत विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको भन्दै उहाँले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताउनुभयो ।

संविधानले दिएको मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरूको तथ्याङ्क र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताउनुभयो ।

अध्यागमनका गेटहरूलाई आधुनिकिकरण गर्नुपर्नेमा पनि उहाँको जोड छ । पछिल्लो समय भिजिट भिसामा विदेशिने र त्यहाँ गएर रोजगारीको शिलशिलामा नेपालीहरू भौतारिएका घटनाहरू आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरूले संयुक्त रूपमा गम्भीरतापूर्वक कदम चालिरहेको पनि उल्लेख गर्नुभयो ।

गृहमन्त्री खाँणले बदलिँदो परिवेशअनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशिलता ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यशैलीलाई पनि तीव्र गतिमा आधुनिकिकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।