
काठमाडौं । नेपालका थुप्रै कलाकारहरूले बलिउडमा डेब्यू गरेका छन् । उनीहरूले भारतका सिनेमा क्षेत्रमा प्रवेश गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन समेत योगदान दिएका छन् ।
नेपाली कलाकारहरूले बलिउड अर्थात भारतीय सिनेमा क्षेत्रमा मात्र नभई दक्षिण भारतीय सिनेमामा पनि सफलता प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल नेपाली कलाकारहरूले अवसर पाउँदा जहाँ पनि आफ्नो प्रतिभा र क्षमता देखाउन सक्छन् भन्ने उदाहरण समेत बनेका छन् ।
बलिउडजस्तो निकै प्रतिस्पर्धाको क्षेत्रमा प्रवेश गरेर उनीहरूले आफ्नो कलाकारिता देखाएका मात्रै छैनन्, देशलाई समेत चिनाएका छन् ।
मनिषा कोइराला
नेपालको राजनीतिक परिवारमा जन्मिएकी मनिषा कोइराला बलिउडका निकै चर्चित नाम हो । सन् १९७० मा काठमाडौंमा जन्मिएकी मनिषा मोडलिङमार्फत फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी नेपालको प्रधानमन्त्री भइसकेका वीपी कोइरालाकी नातिनी हुन् । प्रतिभाशाली मनिषाले बलिउडका फिल्ममा मात्र हैन, नेपाली फिल्ममा समेत नायिकाको भूमिका निर्वाह गरेकी छन् । उनको लोकप्रियता र चर्चा बलिउडसँगै नेपाली फिल्म क्षेत्रमा पनि उत्तिकै छ ।

माध्यामिक तहको पढाइ नेपालमा सकेर डाक्टर पढ्नका लागि भारत गएकी मनिषालाई परिवारका अरु सदस्यले चिकित्सक बनाउन खोजे पनि उनले भने फिल्म क्षेत्र रोजिन् । त्यसमा उनलाई आफ्नी आमा र हजुरआमाको साथ थियो । उनको हजुरआमालाई आफ्नी नातिनी हिरोइन् बनेको हेर्ने इच्छा थियो । मनिषाले हिन्दी फिल्महरू शौदागर, दिलसे, मन, बम्बे, खामोशी जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छन् ।
उदित नारायण झा
उदित नारायण झा सन् १९५५ मा नेपालको सप्तरी जिल्लामा जन्मिएका हुन् । उनले नेपाली, हिन्दी, मैथली, उर्दु, तमिल, तेलगु, मलयालम, कन्नड, उडिय, आसामी लगायतका भाषामा चलचित्रका गीतमा स्वर दिएका छन् । उनी नेपाली संगीतमा लामो समय बिताएपछि बलिउडमा प्रवेश गरेका थिए । उनी नेपालका मात्रै नभइ बलिउडका पनि सफल गायक हुन् । उनले राजविराजस्थित श्री पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयबाट माध्यामिक तहको पढाइ सकेका हुन् । उनले काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका हुन् ।

झाले ७० को दशकको सुरुमा रेडियो नेपालका लागि लोकगीत गाएका थिए । सन् १९७८ मा उनले आफूलाई मुम्बइमा स्थानान्तरण गरे । मुम्बईमा उनले भारतीय विद्या भवनमा ६ वर्षसम्म भारतीय शास्त्रीय संगीत सिकेका थिए । सन् १९८८ मा बलिउड फिल्म ‘कयामत से कयामत’बाट उनलाई सफलता मिल्यो । जसले उनलाई भारतीय फिल्म फेयर अवार्ड पनि दिलाएको थियो । फिल्म ‘जो जिता वही सिकन्दर’मा ‘नसा’ बोलेको गीतले उनलाई सर्वकालीन हिट गरायो । उनले सन् १९८० बाट बलिउडमा गाउन सुरु गरेका हुन् ।
झरना बज्राचार्य
झरना बज्राचार्य नेपाली अभिनेत्री तथा मोडल हुन् । उनको पहिलो र सफल चलचित्र ‘युगदेखि युगसम्म’ हो । उनको जम्म सन् १९८१ म काठमाडौंमा भएको हो । सन् १९९७ मा मिस नेपालको उपाधी जितेकी उनी त्यसैवर्ष उनले मिस वर्ल्डममा भाग लिएकी थिइन् । सन् २००४ मा फिल्म ‘लभ इन नेपाल’मा झरनाले सोनु निगमसँग काम गरेकी थिइन् । उनले सिद्धार्थ बनस्थली स्कुलबाट आफ्नो माध्यामिक तहको पढाइ पूरा गरेकी हुन् । सन् २०१५ मा उनले राहुल अग्रवालसँग विवाह गरिन् ।

माला सिन्हा
माला सिन्हा नेपाली मुलकी भारतीय अभिनेत्री हुन् । सन् १९३६ मा जन्मिएकी उनले नेपाली, हिन्दी र बंगाली फिल्महरूमा अभिनय गरेकी छन् । सिन्हाले सन् १९५० देखि १९७० सम्म १ सय भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी थिइन् । जसमध्ये फल प्यासा, धुलका फूल, अनपढ, दिल तेरा दिवाना, गुमराह, हिमालयकी गोद में र आँखे चलचित्र सबैभन्दा बढी सफल थिए । नेपाली फिल्म माइतीघरमा अभिनय गरेकी उनले नेपाली उद्योगी सिपी लोहनीसँग विवाह गरेकी हुन् । उनको अभिनय यात्रा बंगाली चलचित्रमा बाल कलाकारबाट सुरु भएको थियो ।

सुनिल थापा
सन् १९५७ मा काठमाडौंमा जन्मिएका सुनिल थापाले नेपाली फिल्ममा खलनायकको भूमिकामा एकछत्र राज गर्ने अभिनेता हुन् । उनले नेपालीसँगै बलिउडका फिल्ममा पनि अभिनय गरेका छन् । नेपाली फिल्ममा सुनिल थापालाई ‘राते काइँला’को नामले पनि चिन्ने गरिन्छ । थापा सन् १९८१ मा बलिउडमा प्रवेश गरेका हुन् । उनले नेपाली र हिन्दीसँगै भोजपुरी फिल्ममा पनि काम गरेका छन् । उनलाई बलिउडको ‘मेरी कोम’ फिल्मले फरक चिनारी दिएको हो । थापाले ‘एक दुजेके लिए’ फिल्मबाट बलिउडमा डेब्यू गरेका हुन् । होली नेम हाइस्कुल भारतबाट विद्यालय शिक्षा पूरा गरेका उनको उच्च शिक्षा भने कोलकत्ताको सेन्ट जेभियर्स कलेजबाट पूरा गरेका हुन् ।

तेरिया मगर
तेरिया मगर नेपालको रूपन्देही जिल्लामा सन् २००२ मा जन्मिएकी हुन् । उनको पूरा नाम तेरिया फौजा मगर हो । नृत्यका कारण उनले १४ वर्षको उमेरमा भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्स(डीआडी)मा विजय भएर विश्वसामू आफूलाई चिनाएकी हुन् । त्यसपछि उनी भारतीय टिभीबाट प्रसारण हुने रियालिटी सो ‘झलक दिखला जा’को पनि विजेता भइन् ।

उषा पौडेल
उषा पौडेलको जन्म सन् १९८३ मा जनकपुरको धनुषामा भएको थियो । उनी नर्तक तथा अभिनेत्री हुन् । उनी नेपाली फिल्म कर्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । पौडेलले नेपाली फिल्ममा धेरै काम गरेपछि बलिउडमा प्रवेश गरेकी हुन् । उनले भारतीय टिभी सिरियलमा पनि काम गरेकी छन् । यसैगरी विभिन्न विज्ञापनहरूमा पनि काम गरेकी छन् । उनले तिम्रो माया, मुना मदन, गोधुली, प्यारी बहिनी लगायतका नेपाली फिल्ममा अभिनय गरेकी छन् । उनको वास्तविक नाम रुक्मिणीकुमारी पौडेल हो । पौडेलले भारतीय सिरियलहरूमा दमदार अभिनय गरेकी छन् ।

मुरलीधर
नेपालमा जन्मिएर बलिउडमा चर्चा कमाएका अर्का कलाकार हुन् मुरलीधर । उनको जन्म सिरहा जिल्लामा भएको हो । उनले पनि अरु नेपाली कलाकारले जस्तै बलिउडमा आफ्नो नाम चम्काएका छन् । उनले गाएको ‘उडायो सपना सबै हुरीले’ बोलको गीत अहिले पनि दर्शकस्रोतामाझ लोकप्रिय छ । मुरलीधर संगीतकर्मी÷नाट्यकर्मी र फिल्मकर्मी हुन् । मुरलीधरले धारावाहिक टेलिश्रृंखला ‘महाभारत’मा पनि अभिनय गरेका छन् । मुरलीधरले केही नेपाली चलचित्रहरूमा पनि अभिनय गरेका छन् । उनले बलिउडमा गीत संगीतका साथै फिल्म अभिनय गरेका छन् ।

अदिती बुढाथोकी
अदिती बुढाथोकीको जन्म सन् १९९६ मा झापाको दमकमा भएको थियो । उनले नेपाली फिल्म ‘कृ’ मा नायिकाको रूपमा डेब्यू गरेकी छन् । उनले पहिलो फिल्मबाट नै प्रशंसा पाएकी थिइन् । भारतमा मुम्बईमा बस्दै आएकी अदितीले हिन्दी, नेपाली र पञ्जाबी गीतहरूमा अभिनय गरेकी छन् । उनले सन् २०१८ मा ‘कृ’ फिल्मबाट उत्कृष्ट नवनायिकाको अवार्ड पाएकी थिइन् । उनले आइटीमा स्नातक गरेकी छन् ।

भोलाराज सापकोटा
अभिनयमा अब्बल नेपाली कलाकार भोलाराज सापकोटा बलिउडको ‘बर्फी’ फिल्ममा गरेको अभिनयले चर्चामा आएका थिए । यस फिल्ममा उनले रणवीर कपुरको साथीको भूमिका निभाएका थिए । यस फिल्ममा उनको सहायक भूमिका रहेको छ । उनले नेपाली फिल्म कबड्डी, रणवीर र जात्रामा अभिनय गरेका छन् । उनले सन् २०१२ मा बलिउडमा फिल्म बर्फीबाट डेब्यू गरेका हुन् ।

यसैगरी नेपालका अरु धेरै कलाकारहरूले पनि बलिउड प्रवेशकाे तयारीमा छन् भने कति संघर्षरत छन् । भारतमा जन्मिएका नेपाली नेपाली मूलका कलाकारहरूले पनि बलिउडमा अभिनयमार्फत तहल्का मच्चाएका छन् । यस्तै दक्षिण भारतीय फिल्ममा पनि नेपाली कलाकारहरूले प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्