८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नेपालमा प्रकाशित बौद्ध साहित्य डिजिटलाइजमा(भिडियो)


0
Shares

नरेन्द्र मानन्धर र भुपेन्द्र खड्का(ईमेज)

काठमाडौं । नेपालमा प्रकाशित भगवान गौतम बुद्धका धर्म ग्रन्थ र साहित्यको संरक्षणका लागि डिजिटलाइज गर्न थालिएको छ ।

भिक्षु अस्सजीको संयोजकत्वमा भएको धम्म डिजिटल समुहले डिजिटलाइजको काम थालिसकेको छ र वेबसाईट मार्फत हेर्न र अध्ययन गर्न सकिने छ ।

भगवान गौतम बुद्धबाट ८४ हजार धम्म स्कन्ध देशना भएको छ । ८२ हजार बुद्ध आफैंले र २ हजार बुद्धको अनुमोदनमा आनन्द लगायतका अन्य भिक्षुहरुले धम्म स्कन्ध देशना गरेको पाइन्छ ।

आधुनिक युगमा बुद्ध शिक्षाको आवश्यकताका कारण विश्वभर बौद्ध ग्रन्थ र साहित्य सबभन्दा बढी भाषामा अनुवाद भएको छ ।

बुद्ध जन्मभूमी नेपालमा भने अमुल्य बौद्ध ग्रन्थहरु संरक्षण हुन सकेको छैन् । विभिन्न काल खण्डमा ग्रन्थ नष्ट गरिएको र थेरवाद भिक्षुहरुलाई देश निकाला गरेको इतिहास छ ।

पाली भाषामा थेरवाद बुद्धधर्मको मुल ग्रन्थ त्रिपिटकलाई सबभन्दा प्रामाणिक मानिन्छ । मिलिन्द प्रश्न र विशुद्धि मार्ग पनि हो ।

पछि यही पाली भाषाबाट संस्कृत, नेपाल भाषा र अन्य विभिन्न भाषामा अनुवाद गरिएको थियो ।

आधुनिक युग सुहाउँदो थेरवाद बौद्ध धर्म ग्रन्थको सहज पहुँच र दीर्घकालीन संरक्षणका लागि १५ जना भिक्षु, भिक्षुणी, उपासक र उपासिकाहरु अघि सरेका छन् ।

यही कारण नेपालमा प्रकाशित बौद्ध साहित्य डिजिटललाइजको स्थितिमा पुगेको छ । अब डिजिटल प्रविधिबाट बुद्ध शिक्षाबारे लेखिएका अमूल्य, अद्धितीय र महत्वपूर्ण ग्रन्थ र कृतिहरुको संरक्षणका साथै प्रचार प्रसार हुनेछ ।

नेपाल र विश्वका अन्य देशमा थेरवाद बुद्ध साहित्य, ग्रन्थ र कृतिहरु सहज पहुँच पुगोसे भनेर डिजिटलाइज गर्न थालिएको प्रा. मदन रत्न मानन्धर बताउँछन् । 

हालसम्ममा बुद्ध दर्शनमा आधारित उपदेश र ध्यान भावना आधारित ५ सय भन्दा बढी पुस्तक डिजिटलाइज गरिएको धम्म डिजिटल समुहले जनाएको छ ।

हरेक वर्ष १ हजारको संख्यामा पुस्तक डिजिटलाइज गर्ने योजना छ । अनित्य दुख र अनात्मा तीन लक्षण नै बुद्ध दर्शनको मूल मन्त्र हो ।

यही लक्षणलाई बुद्धकाल देखि हाल सम्म बुझाउने प्रयत्न भइरहेको छ । डिजिटललाइजले यसमा थप योगदान पुग्ने देखिन्छ ।