
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ ।
कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ ।
निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘प्रेस ब्रिफिङ’ गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० गतेका लागि घोषणा भइसकेको छ ।
दैनिक रूपमा सञ्चारमाध्यम मार्फत सम्पूर्ण नेपालीलाई निर्वाचन गतिविधि अद्यावधिक गरी निर्वाचन वातावरण बनाउन आयोगलाई सहयोग गर्ने हेतुले प्रवक्ता सञ्चारकर्मी भेटघाट राखिएको उहाँले बताउनुभयो ।
दैनिक रूपमा हुने प्रेस मिटले निर्वाचन सम्बन्धमा आउन सक्ने भ्रमपूर्ण विषयवस्तुलाई चिर्न समेत सहयोग पुग्ने आयोगको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्