
काठमाडौं । विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
भक्तपुरको कमलबिनायक च्यामासिंहमा सोमबार बेलुकी ८ बजे बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल सवार दोलखाका ३४ वर्षिय देबेन्द्र कार्कीको मृत्यु भएको हो । गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दोलखाकै २७ वर्षिय बलराम सुनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक नियन्त्रणमा रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा आज बिहान ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् ।
लु ६० प ३६५२ नम्बरको मोटरसाईकल आज बिहान ४ बजे अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाँउपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाँउका २० वर्षीय राउल थापाको मृत्यु भएको हो । दुवै जनाको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक असपतालमा मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय बिमल रानाको सोही अस्पतालमै उपचार भईरहेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
सुनसरीको दुहबी नगरपालिका–८ जुटमिलमा सोमबार बेलुकी साढे ७ बजे पिकअप जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
ना १ ज ३०५१ नम्बरको जिपले पैदलयात्री स्थानिय ५० बर्षीय रमेश लुहागुनलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको विराटनगर स्थित विराट नर्सिङ होममा उपचारको क्रममा आज बिहान सवा ३ बजे मृत्यु भएको हो ।
ठक्कर दिने जिप सहित चालक इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।
ललितपुरको बाग्डोलमा सोमबार राति साढे १० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
बाग्मती प्रदेश–०२–०३० प ९४८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङ्गमा ठोक्ँिकदा मोटरसाइकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा राति साढे ११ बजे मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडी सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ मा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ भने चालक सहित २ जना घाइते भएका छन् ।
स १ त ६१०८ नम्बरको रडलोड गरेको ट्याक्टर गएराती साढे ९ बजे अनियन्त्रीत भएर दुर्घटना हुँदा सप्तरीकै छिन्नमस्ता गाँउपालिका ३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको छ । गम्भीर घाइते भएका सदाको उपचारका क्रममा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
चालक सहित घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी पत्थरगाढा सप्तरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्