
काठमाडौं । साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ ।
साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरू सङ्ग्रहित शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरूको निर्माण कसरी भयो भन्ने बारेमा शब्दकोशमा उल्लेख गर्नुभएको छ ।
कोशमा धातुका प्रतिनिधि रूप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन् । अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन । यसमा प्रयोग भएका संस्कृतका शब्दहरू संस्कृत वाङ्मयमा बढी प्रचलित रहेको उहाँको भनाइ छ ।
शब्दकोश विद्यार्थी, प्राध्यापकका लागि मात्र नभई अन्वेषक, अनुसन्धाताका लागि अन्वेषणको माध्यम बनेको साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले जानकारी दिनुभयो ।
पूर्वसचिव एवं संस्कृत वाङ्मयका ज्ञाता कृष्ण ज्ञवालीले तत्सम शब्दहरूको निर्माण प्रक्रियाबारे शब्दकोशमा विस्तृत उल्लेख गरिएको बताउनुभयो । यो कोष भाषाको क्षेत्रमा चासो राख्ने अध्येता, अनुसन्धाता र सरकारी कार्यालयहरूमा शुद्ध नेपाली शब्द राख्न रुचाउनेहरूका लागि अत्यन्तै उपयोगी भएको टिप्पणी गर्नुभयो ।
प्राध्यापक ढुङ्गानाले झन्डै १० वर्ष लगाएर तयार पारेको कोशमा सांस्कृतिक पक्ष, तीर्थस्थल, देवस्थल, वेदवेदाङ्ग, उपनिषद्, रामायण, महाभारत, दर्शन, पुराण, काव्यशास्त्र, योगशास्त्र, आयुर्वेद, कला, नीतिशास्त्र, विभिन्न सम्प्रदाय र तिनका विशेषता, वाङ्मयका विविध शाखा र विकासक्रम आदि समावेश छन् ।
प्रतिक्रिया दिनुहोस्