
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले एमसीसीका विषयमा छलफल गर्न भन्दै आज शनिबारका लागि पार्टीको स्थायी कमिटी बैठक बोलाएको छ ।
पार्टीले आजकै बैठकबाट एमसीसीका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ । यस्तै, बैठकमा देशभरको सांगठनिक गतिविधि, पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थायी कमिटी बैठकबाट पार्टीले एमसीसीको आधिकारिक निर्णय लिने भन्दै समय माग गर्नुभएको थियो । उहाँको आग्रह अनुसार प्रधानमन्त्री देउवाले आइतबारसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सरकारमा रहँदासम्म प्रधानमन्त्री र मन्त्री भएका नाताले एमसीसीका विषयमा प्रधानमन्त्रीको भन्दा आफ्नो फरक धारणा नहुने बताइसक्नुभएको छ । उहाँको यो आशयसँगै सो पार्टी एमसीसीका पक्षमा खुल्ने सम्भावना देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्