२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

नेपालको राजनीति जटिल मोडमा पुग्यो : मुख्यमन्त्री पाण्डे


689
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले नेपालको राजनीति जटिल मोडमा पुगेको बताउनु भएको छ ।

७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशी अनुदानको विवादले देशको राजनीति जटिल अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले विदेशबाट आएको अनुदान सहायताको कारण विवाद र अप्ठेरो झेल्दै आएको बताउनुभयो ।

वर्तमान गठबन्धनको सरकारले विगत देखि नै मिलेर देशको समस्याको समाधान गर्दै आएको भन्दै अहिलेको समस्या पनि समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि लामो राजनीतिक संक्रमणकाल समाप्त भएको बताउनुभयो । जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त भएको उपलब्धिको रक्षाको लागि सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले मुलुकमा अझै पनि जनताले अपेक्षा गरे अनुसारको अवस्थामा परिवर्तन आउन नसकेको बताउनुभयो । पाण्डेले सबै राजनीतिक दल मुलुकको आर्थिक र सामाजिक पक्षको सुधारमा लाग्नु पर्ने पनि बताउनुभयो ।