२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनमाथि रुसले आक्रमण गर्ने अमेरिकी दाबी, युक्रेनबाट टुक्रिएका देशमा जनपरिचालन


2.08k
Shares

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गर्ने अमेरिकाले दाबी गरिरहँदा पूर्वी युक्रेनबाट टुक्रिएको क्षेत्रका नेता जनपरिचालनको तयारी गरेका छन् ।

पूर्वी युक्रेनबाट टुक्रिएको क्षेत्र (डोनेट्स्क जनगणतन्त्र)का नेताले पूर्व सोभियत देशमा युद्ध बढ्दै जाने डरका कारण सामान्य जनपरिचालनका निम्ति आग्रह गरेका हुन् । जसका लागि नागरिकलाई सैन्य भर्ती कार्यालयमा आउन आग्रह गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, विद्रोही र सरकारी सेनालाई विभाजित गर्ने उदेश्यले आक्रमणमा ‘नाटकीय वृद्धि’ भइरहेको एक अध्ययनले देखाएको छ । यसबीचमा शनिबार विहान भएको गोलाबारीमा एक युक्रेनी सैनिकको मृत्यु भएको जनाइएको छ ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले जर्मन सहर म्युनिखमा आयोजित एक सुरक्षा सम्मेलनमा रुसले आक्रमण गरेमा अमेरिका र उसका सहयोगीले यसका वित्तीय संस्था र प्रमुख उद्योगहरूलाई लक्षित गर्दै ‘महत्वपूर्ण एवं कठोर’ कदम चाल्ने चेतावनी दिएकी छन् ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने पूर्वी युक्रेनको अवस्था बिग्रँदै गएको प्रतिक्रिया दिएका छन् । शनिबार रुसको रणनीतिक आणविक क्षेप्यास्त्र बलको प्रमुख अभ्यासको निरीक्षण गर्दै पुटिनले पश्चिमी नेतासँग संकटबारे छलफल गर्न आफू इच्छुक रहेको भए पनि उनीहरूले रूसको सुरक्षा चासोलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।