
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले एमसीसी परियोजना नेपालको हितमा रहेको विषय जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।
कोइरालाले नेपालको विकास निर्माण तथा गरिबी निवारण गरी लोकतन्त्रलाई बलियो बनाउनु परियोजनाको लक्ष्य रहेको उल्लेख गर्दै एमसीसी आउँदैमा मुलकमा विदेशी सेना आउने यसको कुनै पनि बुँदामा उल्लेख नभएको प्रष्ट पार्नुभयो ।
काेइरालाले एमसीसी अन्तर्गत ६३ अर्ब रुपैयाँको परियोजनाले मुलुकको विद्युत् ट्रान्समिसन लाइनको विस्तारसँगै सडक तथा पूर्वाधारको निर्माणलाई बढावा दिनु रहेको बताउनुभयो ।
उहाँले अनुदान लिने नाममा जे कुरालाई पनि स्वीकार गर्नुपर्छ भन्ने पक्षमा आफू पनि नरहेको प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्