
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको म्यान्चेस्टर सिटीलाई टोटनह्याम हट्सपरले ३–२ ले हराएको छ ।
शनिबार राति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा भ्रमणकारी टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा कुलुसेभ्स्कीले एक गोल गरे । सिटीका इके गुन्डोगान र रियाद माहारेजले एक एक गोल गरेका थिए ।
लिग तालिकामा शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको यो हारले दोस्रो स्थानको लिभरपुललाई फाइदा पुगेको छ । लिभरपुलले शनिबार रातिको खेलमा नरिच सिटीलाई ३–१ ले हराउँदा तेस्रो स्थानको चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो ।
यस्तै, अन्य खेलहरुमा आर्सनलले ब्रेन्टफोर्डलाई २–१ ले हराउँदा साउथह्याम्पटनले एभर्टनलाई २–० ले पाखा लगायो ।
प्रिमियर लिगमा शनिबार रातिका खेलहरुपछि २६ खेलबाट ६३ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ५७ अंकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ५० अंक छ ।
प्रतिक्रिया दिनुहोस्