१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगञ्ज महानगरकाे माघ महिनाकाे राजस्व संकलन ४ करोड रूपैयाँ


65
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को माघ महिनामा झण्डै ४ करोड राजस्व संकलन गरेको छ ।

माघ १ गतेदेखि २९ गतेसम्म ३ करोड ९० लाख ९६ हजार २ सय ४० रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । राजस्व शाखाले माघ महिनामा प्रशासनिक दण्ड जरिवाना र जफतवापत एक लाख ८० हजार ५ सय ६८ रुपैयाँ संकलन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा भने महानगरले ३५ करोड ३३ लाख ९५ हजार ४ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्ष २०७७/०७८ को तुलनामा ९ करोड ७८ लाख ११ हजार ८ सय ९७ रुपैयाँले बढी हो । गत आर्थिक वर्षको ७ महिनामा महानगरपालिकाले २५ करोड ५५ लाख ८३ हजार ५ सय ९४ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षमा आन्तरिक आय ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ पुर्‍याउने लक्ष्य महानगरले राखेको छ । महानगरले कोभिड–१९ महामारीका कारण थलिएको होटल, सिनेमा हल लगायत पर्यटन क्षेत्र समेतलाई सम्पत्ति कर तिर्नुपर्ने जनाएको छ ।

करदाताले आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा लाग्ने सम्पत्ति कर चैत मसान्त भित्र बुझाएमा कुल करको ५० प्रतिशत छुट र २०७७/०७८ को जरिवाना समेत छुट दिने निर्णय गरेको छ । विभिन्न छुट सुविधा दिएर नागरिकलाई पुरानो बक्यौता कर तिर्न प्रोत्साहित गरिरहेको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो ।