३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १५ गतेदेखि


52
Shares

काठमाडौं । प्रदेश १ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशन यही फागुन १५ गते बस्ने भएको छ ।

विराटनगरस्थित प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले नवौं हिउँदे अधिवेशनको सातौं बैठक फागुन १५ गते दिउँसो १ बजे आह्वान गरिएको जानकारी दिनुभयो ।

गत मंसिर १ गते स्थगित बैठक करिब ३ महिनापछि प्रदेशसभा बस्न लागेको हो । सो दिन विहान कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरी प्रदेशसभामा छलफल अघि बढाइने सचिव पराजुलीले जानकारी दिनुभयो ।

आह्वान गरिएको अधिवेशनमा विभिन्न तीन विधेयकको विषयमा समेत छलफल हुनेछ । जसमा प्रदेश सरकार आर्थिक तथा वित्तीय कार्यविधि, प्रदेश सरकार ऐन संशोधन विधेयक, प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठानमा छलफल हुनेछ ।

त्यसैगरी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अघिवेशनमा प्रदेशको नामाकरणको विषयमा साझा र सहमतिको प्रयास हुने बताउनुभयो ।

प्रदेशको नामाकरणका लागि समन्वय तथा सहजीकरण गर्न स्वास्थ्यमन्त्री जयराम यादवलाई प्रदेश सरकारले जिम्मेवारी दिएको छ ।

सोहीअनुसार मंगलबार गठबन्धन सरकारसँगै प्रमुख प्रतिपक्षी दल, विभिन्न राजनीतिक दलका प्रदेश अध्यक्ष तथा सभापतिसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।